काठमाडौं — राजधानीको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा १०८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरिने तयारी गरिएको छ।
ती प्रदर्शनहरू संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको थियो। तर, उक्त आन्दोलन हिंसात्मक मोड लिँदै आगजनी, तोडफोड र लुटपाटमा परिणत भएको थियो।
प्रहरी अनुसन्धान अनुसार अभियुक्तहरूमाथि आपराधिक उपद्रव, संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा राज्यविरुद्धको कसुरजस्ता गम्भीर मुद्दा लगाइनेछ। ५३ जना अझै प्रहरी हिरासतमा छन् भने बाँकीलाई साधारण तारेखमा छोडिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले घटनाको अनुसन्धान शुरु गरेको ६० दिन पुगिसकेपछि अब मुद्दा औपचारिक रूपमा अगाडि बढाउन लागिएको हो।
घटनामा संलग्न भएको आशंकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं लगायत पक्राउ परेका थिए। मिश्र र राणा हाल हिरासतबाट मुक्त छन्, तर उनीहरूविरुद्ध समेत राज्यविरुद्धको कसुरसहित अन्य संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिनेछ।
प्रसाईंमाथि पनि त्यस्तै प्रकारको अभियोग लगाउने तयारी प्रहरीको छ। यद्यपि सबै प्रतिवादीमाथि समान प्रकृतिका मुद्दा नलागाई विभेद गरिएको देखिएको छ—केहीलाई गम्भीर अभियोगमा त केहीलाई तारेखमा रिहा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस