Like us!
Follow us!
Connect us!
Watch us!

ग्वार्को फ्लाई ओभर जेठमै सम्पन्न हुने : भौतिक पूर्वाधारमन्त्रीको प्रतिबद्धता

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १२ : ३० मा प्रकाशित

ग्वार्को फ्लाई ओभर जेठमै सम्पन्न हुने : भौतिक पूर्वाधारमन्त्रीको प्रतिबद्धता

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर जेठ महिनाको अन्त्यसम्ममा सम्पन्न हुने स्पष्ट गरेका छन्। आइतबार बिहान स्थल निरीक्षणमा पुगेका मन्त्री दाहालले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिँदै ढिलाइ सह्य नहुने बताएका हुन्।

“अब पनि ढिलाइ गर्ने छुट छैन,” मन्त्री दाहालले भने, “प्राकृतिक विपद् जस्ता बाह्य अवरोध नआएमा जेठको अन्त्यभित्र सवारीसाधन सञ्चालनमा ल्याउनैपर्छ। यो आयोजनामाथि जनताले निकै समयदेखि पर्खिरहेका छन्।”

फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम समावेश छ। मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार निर्माणका क्रममा देखा परेका प्राविधिक समस्याहरू समाधान भइसकेका छन्।

त्यस्तै, सडक विभागका महानिर्देशक रामहरी पोखरेलले ग्वार्को फ्लाई ओभरलाई राजधानीको ट्राफिक व्यवस्थापनका लागि अत्यन्त आवश्यक ठानी, प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिए।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार, परियोजनाको मुख्य भौतिक संरचना सम्पन्न भइसकेको छ भने अहिले अन्तिम चरणको कालोपत्रे कार्य भइरहेको छ।

यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरिरहेको हो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो।

सरकारले अब यस आयोजनालाई कुनै हालतमा ढिलाइ नगरी तोकिएको मितिमा सम्पन्न गर्ने तयारी गरेको संकेत दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको