Like us!
Follow us!
Connect us!
Watch us!

२८ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स अब सुरक्षण मुद्रण केन्द्रमै छपाइ हुने, असारदेखि सुरु हुने तयारी

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १४ : ३७ मा प्रकाशित

२८ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स अब सुरक्षण मुद्रण केन्द्रमै छपाइ हुने, असारदेखि सुरु हुने तयारी

काठमाडौं — लामो समयदेखि छाप्न बाँकी रहेका २८ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ हुने भएको छ। यो व्यवस्था यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच भएको आपसी सहमतिपछि लागू हुने भएको हो।

दुवै निकायबीच एमओयू (समझदारीपत्र) मा हालै हस्ताक्षर गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीमा हस्ताक्षर गरेका हुन्।

अब असारदेखि सुरु हुने तयारीअनुसार पहिलो चरणको छपाइ असार मसान्तसम्ममा सम्पन्न गरी लाइसेन्स विभागलाई हस्तान्तरण गरिने योजना छ। सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितका प्रविधियुक्त र सुरक्षित स्मार्ट लाइसेन्स तयार गर्नेछ।

विगतमा लाइसेन्स नपाउँदा नवीकरण गरिसकेका प्रयोगकर्ताहरूसमेत महिनौं पर्खन बाध्य थिए। अब नयाँ व्यवस्थाले सो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। सेवाग्राहीलाई लामो समय लाइसेन्स पर्खिनुपर्ने अवस्थाले सवारी चलाउने अधिकारमा समेत असर पार्दै आएको थियो।

यसबीचमा, तत्काल लाइसेन्स नपाउने अवस्थालाई मध्यनजर गर्दै सरकारबाट नागरिक एपमार्फत डिजिटल लाइसेन्स सुविधा पनि उपलब्ध गराइएको छ। ट्राफिक प्रहरीले अब सोही एपका आधारमा सवारी नियमन तथा जरिवाना संकलनसमेत गरिरहेको छ।

सरकारी सहकार्यमार्फत छपाइ प्रक्रिया अब छरितो, पारदर्शी र गुणस्तरीय हुने विश्वास गरिएको छ। यो कदमले राज्यको सेवा प्रवाहमा डिजिटल रूपान्तरण र नागरिकमैत्री पहुँच विस्तारमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको