नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक संभावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिनुभयो । नेश्नल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरुसंगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भईसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गर्नुभयो ।
नेपालमा लगानीका क्षेत्रहरुबारे श्रीलङ्काका व्यवसायीहरुलाई जानकारी दिदैं अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाई छ ।
कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरु, लगानीको चुनौती नीति तथा कानूनी संरचना लगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलङकाको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस