भारतीय क्रिकेटर रिंकु सिंहले समाजवादी पार्टीकी युवा सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
दुवैको इन्गेजमेन्ट जुन ८ मा लखनऊमा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै वैवाहिक कार्यक्रम भने नोभेम्बर १८, २०२५ मा वाराणसीको होटल ताजमा हुने बताइएको छ ।
इन्गेजमेन्टमा भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर, विराट कोहली, राहुल द्रविड, अभिषेक नायर लगायतका क्रिकेट स्टारहरूलाई पनि आमन्त्रित गरिएको बताइएको छ भने उत्तर प्रदेशका क्रिकेटर र आइपिएल टिम कोलकोता नाइट राइडर्सका खेलाडीहरू सहभागी हुने उल्लेख गरिएको छ ।
रिंकु सिंहको जन्म १२ अक्टोबर १९९७ मा अलीगढको एक धेरै साधारण परिवारमा भएको थियो । उनका बुबा खानचन्द्र ग्यास एजेन्सीमा सिलिन्डर वितरकको रूपमा काम गर्थे । उनले सुरुमा आफ्नो बुबालाई सिलिन्डर वितरणको काममा आफैंले सहयोग गरे र गरिबीसँग लड्दै क्रिकेट मैदानमा आफ्नो स्थान बनाए ।
सबैभन्दा पहिले, उनले डीपीएस मैदानमा आयोजित अन्तर्राष्ट्रिय विद्यालय विश्वकपमा म्यान अफ द सिरिजको उपाधि जितेर हेडलाइन बनाएका थिए । त्यसपछि आईपीएल मार्फत उनले चर्चा कमाएका थिए । कोलकोतामा २०२३ को आइपिएलमा उत्कृष्ट प्रदर्शन पछि उनी भारतीय राष्ट्रिय टिम परेका थिए । उनी हाल भारतीय राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय टी-२० क्रिकेट टोलीका सदस्य हुन् । आइपिएलको यस सिजनका लागि कोलकोताले रिंकुलाई १३ करोड भारुमा रिटेन गरेको थियो ।
रिंकुलाई पहिलो पटक २०१७ मा किंग्स इलेवन पञ्जाबले १० लाख भारुमा किनेको थियो तर, उनले त्यो प्रतियोगितामा खेल्ने मौका पाएनन् । २०१८ मा, कोलकाता नाइट राइडर्सले उनलाई ८० लाख भारुमा आफ्नो टोलीमा समावेश गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस