पशुपति एग्रो एण्ड फुड इन्डस्ट्रीजले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको जनाएको छ। कम्पनीका अनुसार, चालु आवको पहिलो तीन त्रैमासको अवधिमा नै व्यापार एक अर्ब रुपैयाँ नाघिसकेको हो।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो, भने सन् २०२३ मा यो व्यापार ३० करोड ९० लाख रुपैयाँमा सीमित थियो। तर चालु वर्षमा व्यापार उल्लेख्य रूपमा वृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनी मुख्य रूपमा धान आयात गरेर प्रशोधन गरी नेपाली बजारमा विभिन्न ब्रान्डहरूमा चामल बिक्री वितरण गर्दै आएको छ। यसअन्तर्गत 'माइजु', 'सुनचरी', 'हिमानी', 'सनराइज' र 'डबल सूर्य' जस्ता ब्रान्डहरू प्रमुख हुन्।
सन् २०२१ मा नन-स्टिम प्लान्ट सञ्चालनमा ल्याएर व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ मा दोस्रो प्लान्ट पनि सञ्चालनमा ल्याएको थियो। कम्पनीले सन् २०२५ को पहिलो ९ महिनामा मात्र चामल बिक्रीबाट एक अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको उल्लेख गरेको छ। यसबाहेक, भुस, कनिका, ब्रान र सोना धान बिक्रीबाट पनि थप आम्दानी भइरहेको छ।
कम्पनीसँग प्रतिघण्टा ८ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस