Like us!
Follow us!
Connect us!
Watch us!

चेम्बर र आइएमएफका प्रतिनिधीबीच नेपालको आर्थिक अवस्थाबारे छलफल

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १५ : ३५ मा प्रकाशित

चेम्बर र आइएमएफका प्रतिनिधीबीच नेपालको आर्थिक अवस्थाबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिहरूबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौतीहरू, आगामी आर्थिक वर्षको बजेट तथा मौद्रिक नीति लगायतका विषयमा विशेष छलफल सम्पन्न भएको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक तथा व्यवसायिक वातावरण, कोभिड-१९ पछिको आर्थिक अवस्था, बजेटको कार्यान्वयन पक्ष र मौद्रिक नीतिमा आवश्यक सुधारको विषयमा केन्द्रित भएर विचारविमर्श भएको हो।

छलफलका क्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुधारतर्फ सरकारको प्रयास सकारात्मक रहेको उल्लेख गरे। उनले भने, 'सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन तथा निजी क्षेत्रबाट प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ, जसले निजी क्षेत्रमा नयाँ आशा जगाएको छ। बजेट समग्रमा सन्तुलित देखिन्छ, अब यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन जरुरी छ।'

छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ प्रस्तुत बजेटलाई यथार्थमा पुर्‍याउन अनुकूल मौद्रिक नीति आवश्यक रहेकोमा पनि अध्यक्ष अग्रवालले जोड दिए।

उनका अनुसार, कोभिड-१९ पछि लागू गरिएका संकुचित नीतिहरूले निजी क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको र अहिले देखिएको आर्थिक शिथिलताको मुख्य कारण पनि त्यही नीति भएको बताउँदै, अब समयमै सुधार गरिएको खण्डमा समस्या समाधान हुने विश्वास व्यक्त गरे।

नेपालमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले भने, 'यदि उपयुक्त आर्थिक नीतिहरू अपनाइए भने उच्च आर्थिक वृद्धि हासिल गर्नु चुनौतीपूर्ण हुने छैन।'

आईएमएफ मिसन चिफ डा. सर्वात जाहानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चेम्बरका पदाधिकारीहरूसँगको छलफलमा नेपालको हालको आर्थिक अवस्था, निजी क्षेत्रका समस्याहरू, बजेट तथा मौद्रिक नीतिसम्बन्धी विविध विषयमा जानकारी लिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको