चालू आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धितोपत्र बजार पूँजीकरणमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार, २०८२ वैशाख मसान्तसम्म बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँको तुलनामा निकै वृद्धि हो।
सूचीकृत कम्पनीहरूको बजार पूँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको रहेको छ। ती कम्पनीहरूले कूल बजार पूँजीकरणको ५२.४ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसपछि जलविद्युत कम्पनीहरू १५.५ प्रतिशत, लगानी कम्पनीहरू ८ प्रतिशत, व्यापारिक संस्था र उत्पादन/प्रशोधन उद्योग ५.६ प्रतिशत, होटल २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.१ प्रतिशत रहेको छ।
हाल नेप्सेमा २७१ कम्पनी सूचीकृत छन्। तीमध्ये १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहमा परेका छन्।
२०८२ वैशाख मसान्तसम्म सूचीकृत कम्पनीहरूको ८ अर्ब ७४ करोड कित्ता शेयरको चुक्ता पूँजी ८ खर्ब ६१ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेप्से सूचक १९९८.८९ विन्दुबाट बढेर २६२०.२७ विन्दुमा पुगेको छ। यसले बजारमा आंशिक सुधारको संकेत देखाए पनि लगानीकर्ताको विश्वास भने अझै पूर्णरूपमा सुदृढ भएको देखिएको छैन।
यस अवधिमा कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरका धितोपत्रहरू सार्वजनिक निष्कासनका लागि अनुमति दिइएको छ। जसमा २१ अर्ब ८ करोडको बोनस सेयर, २० अर्ब ३८ करोडको साधारण सेयर, ११ अर्ब ६५ करोडको हकप्रद सेयर, १ अर्ब २५ करोडको म्युचुअल फन्ड, ६ अर्ब ८२ करोडको डिबेन्चर, र २ अर्ब २४ करोडको साधारण सेयर परेका छन्।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले बजारमा संरचनागत विस्तारसँगै सूचकांकमा समेत सुधार देखिएको उल्लेख गरेको छ। तथापि, लगानीको वातावरण अझै पूर्णरूपमा विश्वासप्रद हुन बाँकी रहेको विश्लेषकहरू बताउँछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस