Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, ११ : ४२ मा प्रकाशित

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले साइबर अपराध अन्तर्गत पक्राउ पुर्जी जारी गरेको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको आरोपमा साइबर ब्युरोको अनुरोधमा जिल्ला अदालतले पक्राउको अनुमति दिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्। यद्यपि, उजुरी कसले दर्ता गराएको र के आरोप लगाइएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

पाठकले झन्डै तीन साता अघि आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’ अन्तर्गतको ‘टफ एक्स्प्लेनर’ मा नक्शालस्थित हिल्टन होटलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको नाम जोड्दै उनी दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म फैलिएको रियल स्टेट व्यवसायमा संलग्न रहेको र होटल हिल्टनमा पनि उनको लगानी रहेको दाबी गरेका थिए।

पाठकले जयवीरले व्यापारी दीपक भट्ट र होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालसँग मिलेर हिल्टन होटल खरिद गरेको दाबी गरेका थिए। साथै, आफ्ना बुवा प्रधानमन्त्री भएको बेला जयवीरले डायपर र सेनिटरी प्याडमा कर छुट दिलाएको विषयसमेत उठाइएको थियो।

यस रिपोर्टपछि शंकर ग्रुपले वैशाख २१ गते विज्ञप्ति जारी गर्दै उक्त समाचारलाई असत्य, भ्रामक र कपोलकल्पित भन्दै आपत्ति जनाएको थियो। साथै, कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको थियो।

यिनै विषयका आधारमा साइबर ब्युरोमा उजुरी दर्ता भएको र सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। प्रहरीका अनुसार पाठकद्वारा प्रस्तुत सामग्री कपोलकल्पित ठहरिएपछि अनुसन्धानको दायरामा ल्याइएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको