अमेरिकी विमान निर्माता कम्पनी बोइङका लागि समस्या थपिँदै गएका छन्। जुन १२ मा भारतको अहमदाबादमा भएको एअर इन्डिया विमान दुर्घटनामा बोइङ ७८७ ड्रीमलाइनर संलग्न भएको पुष्टि भएपछि कम्पनीको विश्वसनीयता र बजार मूल्यमा झनै असर देखिएको छ।
यो बोइङ ७८७ ड्रीमलाइनरको सन् २०११ मा पहिलोपटक परिचालन भएदेखि हालसम्मकै पहिलो ठूलो दुर्घटना हो। उक्त विमान लन्डन गन्तव्यतर्फ उडान भर्दै गर्दा अहमदाबाद विमानस्थलबाट करीव १५ किलोमिटर टाढा रहेको मेघाणी नगरमा खसेको हो। विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा भारतका पूर्व गृहमन्त्री तथा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानी पनि रहेका थिए।
बजारमा नकारात्मक असर
दुर्घटनाको खबर सार्वजनिक हुनासाथ बोइङको सेयर मूल्यमा तीव्र गिरावट आएको छ। विगतमा पनि बोइङ ७८७ मोडेलमा इन्जिन समस्या देखिएको इतिहास रहँदै आएको छ। केही एयरलाइन्सले यसै समस्याका कारण फ्लाइट ग्राउन्ड गर्नुपरेको थियो। यद्यपि, हालको दुर्घटना अघि सम्म ७८७ ड्रीमलाइनरको समग्र ट्र्याक रेकर्ड सन्तोषजनक मानिएको थियो।
पूर्व मुद्दा अझै सेलाउन नपाउँदै नयाँ संकट
केवल केही हप्ताअघि मात्र बोइङले सन् २०१८ र २०१९ का दुइटा विमान दुर्घटनासँग सम्बन्धित मुद्दामा अमेरिकी न्याय मन्त्रालयसँग मिलेर $१.१ अर्ब डलर तिर्ने सहमति गरेको थियो। ती दुई दुर्घटनामा जम्मा ३४६ जनाको मृत्यु भएको थियो। पीडित परिवारहरूले बोइङको यो सहमतिको कडा आलोचना गर्दै यसलाई “नैतिक रूपले आपत्तिजनक” भनेका थिए।
सुरक्षा चेतावनीको अवहेलना?
सन् २०२४ मा वाशिंगटनमा भएको सुनुवाइका क्रममा एक ह्विसलब्लोअरले बोइङ ७८७ मोडेललाई विश्वभर ग्राउन्ड गर्न सुझाव दिएका थिए। उनले जहाजको सुरक्षामा गम्भीर त्रुटिहरू रहेको बताएका थिए। तर, बोइङले आफ्ना विमानहरूको सुरक्षा र प्रदर्शनमाथि विश्वास रहेको भन्दै ती चेतावनीहरू बेवास्ता गर्यो।
बोइङको प्रतिक्रिया
दुर्घटनापछि बोइङले संक्षिप्त प्रतिक्रिया दिंदै भनेको छ, “हामी प्रारम्भिक रिपोर्टहरूमाथि जानकारी संकलन गरिरहेका छौँ।” हालसम्म एअर इन्डियाले २०१२ यता ३० वटा ड्रीमलाइनर विमान सञ्चालन गर्दै आएको छ।
एअर इन्डिया ड्रीमलाइनर दुर्घटनाले बोइङको दीर्घकालीन व्यापार, विश्वसनीयता र नियामक अनुसन्धानहरूप्रति गम्भीर चुनौती खडा गरेको छ। विगतका मुद्दा र हालको दुर्घटना मिलाएर हेर्दा, बोइङका लागि आगामी दिन सजिलो हुने देखिँदैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस