Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक गतिविधिमा शिथिलताल कायमै, केन्द्रीय बैंकको तथ्यांकमा अर्थतन्त्रका सबै सूचक सकारात्मक

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १२ : ०७ मा प्रकाशित

आर्थिक गतिविधिमा शिथिलताल कायमै, केन्द्रीय बैंकको तथ्यांकमा अर्थतन्त्रका सबै सूचक सकारात्मक

अहिले देशको आर्थिक अवस्था शिथिल अवस्थामा रहेको उद्योगी व्यवसायीहरुको भनाइ छ । अहिले आर्थिक अवस्था चलायनमान बन्न नसकिरहेको अवस्था छ । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने अर्थतन्त्रका सबै सूचक सकारात्म देखाएको छ । तथ्यांकमा भएको सकारात्मकता व्यवहारमा देखिन सकेको छैन् । 

अहिले सबैले अर्थतन्त्रमा संकुचन रहेको र आर्थिक गतिविधि चलायमान बन्न सकेको वताइरहेका छन् । यस्तोमा राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार महँगी नियन्त्रणमा छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, शोधनान्तर खाता र चालु खाता बचतमा छन् । त्यस्तै रेमिट्यान्स पनि पर्याप्त भित्रिएको छ । जसले अर्थतन्त्रलाई ठिक रहेको देखाएको देखाउँछ । तर वास्तविकतामा भने त्यो देखिदैन् । अहिले अर्थतन्त्र निकै संकुचनमा रहेको व्यवसायीहरुको भनाइ छ । 

महँगी नियन्त्रणमा

नेपाल राष्ट्र बैंकले महँगी वृद्धिदर घट्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । २०८२ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । २०८१ वैशाख मसान्तमा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत छ । त्यसैगरी काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४ प्रतिशत छ ।

शोधनान्तर र चालु खाता बचतमा

मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१÷८२ को १० महिनामा शोधनान्तर खाता ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोडले बचतमा छ ।

२०८२ वैशाख मसान्तमा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालू खाता १ अर्ब ८९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा थियो । यस्तै, खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब २६ करोड थियो ।

रेमिट्यान्स १३ खर्ब ६५ अर्ब भित्रियो

वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स आप्रवाह बढेको छ । यस आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म १३ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबर भित्रिएको थियो । २०८२ वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह साढे १० प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब दुई करोड भित्रिएको थियो ।

विदेशी विनिमय सञ्चिति २५ खर्ब माथि 

विदेशी मु्द्राको सञ्चिति पनि बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति २०८२ वैशाख मसान्तसम्मम २३.१० प्रतिशत बढेर २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा साढे २० प्रतिशत बढेर १८ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले बढेर २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६ दशमलव आठ प्रतिशतले बढेर ३ खर्ब १ अर्ब ८३ करोड कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत छ ।

राष्ट्र बैंकले १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १२ दिनको वस्तु आयात र १४ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

सेवा आय ८६ अर्ब बढी घाटामा

नेपाल आउने विदेशीले गर्ने खर्चभन्दा बाहिर घुम्न र पढ्न जाने नेपालीले गर्ने खर्च धेरै देखिएको छ । यी दुवै शीर्षकको आम्दानी र खर्चलाई सेवा आयमा गणना गरिन्छ । २०८२ वैशाख मसान्तसम्म खुद सेवा आय ८६ अर्ब ५३ करोड रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत नेपाल घुम्न आउने पर्यटकबाट हुने आय आठ दशमलव छ प्रतिशतले बढेर ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रुपैयाँ थियो ।

यस्तै, नेपालबाट विदेश घुम्न र पढ्न जाने नेपालीले गर्ने खर्च १७.९ प्रतिशत बढेर १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ थियो । यस आर्थिक वर्षको १० महिनामा विदेश घुम्न जाने नेपालीले ७२ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको