Like us!
Follow us!
Connect us!
Watch us!

३७ लाख बढी नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता,महिनामै ९ अर्ब बढी रकम आवश्यक

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १७ : ०८ मा प्रकाशित

३७ लाख बढी नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता,महिनामै ९ अर्ब बढी रकम आवश्यक

सामाजिक सुरक्षा भत्ता पाउने नेपालीको संख्या ३७ लाख भन्दा बढी रहेको पाइएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्ने नेपालीको संख्या ३७ लाख ६ हजार ३८९ जना रहेको हो । यो संख्या सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको हो ।

१० वटा शीर्षकमा भत्ता वितरण 

आर्थिक सर्वेक्षण अनुसार सरकारले १० वटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

सरकारले विभिन्न उमेर समूहका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । संघीय सरकारले जेष्ठ नागरिक (७० वर्ष पुरा भएका चालु आवसम्म ६८ वर्ष), दलित जेष्ठ नागकिर (६० वर्ष पुरा), ६० वर्ष पुरा गरेका एकल महिला, तोकिएको क्षेत्रका ६० वर्ष पुरा गरेको जेष्ठ नागरिक, विधवा महिला, क र ख वर्गका अपाङगता भएका नागरिक, क्षेत्र तोकिएका बालबालिका, दलित बालबालिका र लोपोन्मुख जातिका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

भत्ता वितरणमा मासिक करिब ९ अर्ब खर्च 

यी सबै शीर्षकमा भत्ता पाउनेहरुको हिसाब गर्दा सरकारले हरेक महिना ९ अर्ब ७० करोड ७२ लाख ९१ हजार ५१० रुपैयाँ खर्च गर्ने गरेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता दिने शीर्षक अनुसार ७० वर्ष उमेर पुगेका नागरिकको संख्या फागुन मसान्तसम्मको अवधिमा १६ लाख ६१ हजार ३७० जना रहेका छन् । उक्त समूहका नागरिकलाई सरकारले मासिक रुपमा ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्ने दलित जेष्ठ नागरिकको संख्या १ लाख ६१ हजार ८२५ जना रहेका छन् । यो शीर्षकमा पनि सरकारले प्रत्येक व्यक्तिलाई ४ हजार रुपैयाँ दिने गरेको छ । त्यस्तै ६० वर्ष पुगेका एकल महिलाहरुलाई मासिक २ हजार ६६० रुपैयाँ भत्ता दिइन्छ । तोकिएको क्षेत्रका ६० वर्ष पुगेका नागरिक, विधवा महिला, अपाङ्गता भएका नागरिक र अन्य वर्गका लागि पनि मासिक भत्ता निर्धारण गरिएको छ ।

यो संख्या सधैँ स्थिर हुँदैन, जन्म र मृत्यु अनुसार घटबढ हुन सक्छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा सरकारले करिब ७७ अर्ब ६५ करोड ८३ लाख ३२ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च गरेको देखिन्छ । आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको