Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टफोनको मोह : एक वर्षमै नेपाल भित्रिए १९ लाख ७५ हजार मोबाइल

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ११ : ३९ मा प्रकाशित

स्मार्टफोनको मोह : एक वर्षमै नेपाल भित्रिए १९ लाख  ७५ हजार मोबाइल

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले मोबाइल आयातबाट झण्डै ६ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा करिब १९ लाख ७५ हजार वटा मोबाइल सेट नेपाल भित्रिएका छन्। यी मोबाइलको कूल भन्सार मूल्य ३२ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १७ लाख मोबाइल सेट आयात भएको थियो। त्यसबेला सरकारले ४ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने आयातको भन्सार मूल्य २६ अर्ब ३३ करोड रुपैयाँ थियो। यसअनुसार यो वर्ष मोबाइल आयातमा करिब ५ अर्ब ७५ करोड रुपैयाँको वृद्धि देखिएको छ।

मोबाइल आयातमा चीन र भारत अगाडि

मोबाइल आयातमा चीन अग्रस्थानमा रहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा चीनबाट १५ लाख ७० हजार मोबाइल सेट आयात भएका छन्, जसको भन्सार मूल्य २२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, भारतबाट ३ लाख ९७ हजार मोबाइल सेट भित्रिएका छन्, जसको मूल्य ९ अर्ब २९ करोड रुपैयाँ बराबरको छ।

उपभोक्ताको रोजाइ महँगा स्मार्टफोनतर्फ

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म नेपालमा २ करोड ९२ लाख ८५ हजार मोबाइल प्रयोगकर्ता छन्। उपभोक्ताहरूबीच स्मार्टफोनप्रतिको रुचि बढ्दै गएको प्रष्ट देखिन्छ। नयाँ प्रविधिसँग अभ्यस्त प्रयोगकर्ताहरू अब २० हजारदेखि ३५ हजार रुपैयाँ मूल्यको स्मार्टफोन रोज्ने गरेका छन्।

मोबाइल आयातकर्ताहरूका अनुसार, बारफोनको प्रयोग घट्दै गएको र स्मार्टफोनको माग बढेसँगै मोबाइलको संख्याभन्दा मूल्यमा आधारित आयातको परिमाण उल्लेखनीय रूपमा बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको