पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले हालको ढाँचामा लिइँदै आएको द्विपक्षीय (बाइल्याटरल) ऋणले नेपाललाई फाइदा नगरेको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्विपक्षीय ऋण लिने हालको अभ्यास परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे।
डा. महतका अनुसार नेपालले उदार वा उच्च ब्याजदरमा ऋण लिने कार्यले दीर्घकालीन असर पार्ने खतरा हुन्छ। द्विपक्षीय ऋणका शर्तहरू नेपालको पक्षमा नपर्ने, ती शर्तअनुसार सम्बन्धित देशकै ठेकदार तथा सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने, छोटो अवधिमा ऋण फिर्ता गर्नु पर्ने र उच्च ब्याजदर तिर्नुपर्ने जस्ता कारणले गर्दा यस्ता ऋण नेपालका लागि लाभदायी नभएको उनको भनाइ थियो।
'यस्तो मुनिफिसेन्ट (परोपकारी देखिने) तर महँगो ऋण लिनु नेपालको लागि घातक हो,' उनले भने, 'यदि हामीले ऋण लिने हो भने त्यो बहुपक्षीय संस्था (मल्टील्याटरल एजेन्सी) बाट लिउँ, जहाँ हाम्रो आवश्यकता र प्राथमिकताअनुसार लगानी गर्न सकिने होस्।'
उनले नेपालले बहुपक्षीय ऋण लिएर त्यसलाई आफ्नै परियोजना छनोट र कार्यान्वयनमा राष्ट्रिय स्वामित्वसहित उपयोग गर्नुपर्नेमा जोड दिए। त्यसले अन्तर्राष्ट्रिय वित्तीय स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न सक्ने विश्वास उनले व्यक्त गरे।
यसै सन्दर्भमा डा. महतले आन्तरिक ऋण बढाउनै नहुने पक्षमा आफू नरहेको स्पष्ट पार्दै भने, 'इन्टरनल ऋण आवश्यकताअनुसार बढाउन सकिन्छ, तर त्यसको उपयोग र स्रोत सुनिश्चित हुनुपर्छ।'
त्यसैगरी, उनले हालको अवस्थामा नेपालले स्रोत विनाको अधिकार (अनफण्डेड म्यान्डेट) खोलिरहेको उल्लेख गर्दै त्यसबाट भविष्यमा थप चुनौती सिर्जना हुने चेतावनी दिए। साथै, नेपालले जलवायु वित्त (climate finance) मा पनि न्यून उपलब्धि मात्र हासिल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराए।
उनको अभिव्यक्तिले सरकारी ऋण व्यवस्थापन र वित्तीय अनुशासनका विषयमा पुनर्विचार आवश्यक रहेको सन्देश दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस