Like us!
Follow us!
Connect us!
Watch us!

किम जोङ उनको सपना साकार, उत्तर कोरियामा भव्य पर्यटन गन्तव्य तयार

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ०८ : ४६ मा प्रकाशित

किम जोङ उनको सपना साकार, उत्तर कोरियामा भव्य पर्यटन गन्तव्य तयार

 उत्तर कोरियाको नेता किम जोङ उनले करिब सात वर्षको निर्माण अवधिपछि देशकै ठूलो पर्यटन परियोजनाको रुपमा रहेको वोनसान काल्मा तटीय पर्यटन क्षेत्र (Wonsan Kalma Coastal Tourist Zone) सार्वजनिक रूपमा उद्घाटन गरेका छन्। समुद्र किनारमा फैलिएको यस भव्य रिसोर्टमा ५४ वटा होटल, सिनेमा हल, वाटर पार्क, बियर पब, सपिङ मल, रेस्टुरेन्ट, र गेमिङहरू रहेका छन्।

जुलाई १ देखि आन्तरिक पर्यटकका लागि खुला गरिने यस परियोजनाको अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रम रूसी ट्राभल एजेन्सी ‘Vostok Intur’ मार्फत जुलाई ७ देखि सुरु हुने जानकारी दिइएको छ।

किम जोङ उन परिवारसहित प्रचारमा, सामान्य लुगा छोडेर सूटमा देखिए

सामान्यतया सैन्य निरीक्षणमा देखिने नेता किम जोङ उन यसपटक आफ्नो श्रीमती री सोल जु र छोरी किम जु ए सँग रिसोर्ट उद्घाटन कार्यक्रममा देखिए। उनले पहिलोपटक परम्परागत माओ शैलीको पोशाक छाडेर सूट र टाईमा कार्यक्रम संचालन गरे। उनले यो रिसोर्टलाई "देशको वर्षकै सबैभन्दा ठूलो उपलब्धि" भनी सम्बोधन गरे।

तीन माइलको समुद्री तट, सयौं सुविधा

समुद्री किनारमा फैलिएको यो रिसोर्ट करिब तीन माइल (५ किलोमिटर) लामो छ। रिसोर्टभित्रका सुविधाहरूमा इन्डोर–आउटडोर वाटरपार्क, मिनी गल्फ कोर्स, फिल्म हल, पाँच वटा बियर पब, दर्जनौं रेस्टुरेन्ट, शपिङ मल र दुई वटा भिडियोगेम आर्केड रहेको बताइएको छ।

२०२० मा बन्द, २०२३ बाट क्रमशः खुल्दै

यो परियोजना सन् २०१८ मा सुरु गरिएको भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो। उत्तर कोरियाले २०२० मा सिमाना पूर्ण रूपमा बन्द गरेपछि, सन् २०२३ बाट क्रमशः विदेशी भ्रमण अनुमतिमा सहजता ल्याइरहेको छ। अहिले पनि राजधानी प्योङयाङ र अधिकांश क्षेत्रहरूमा आम विदेशी पर्यटकहरूलाई पूर्ण रूपमा प्रवेश अनुमति छैन।

तर, रूसी पर्यटकहरूका लागि विशेष अनुमति दिइएको छ। जुलाई ८ मा प्योङयाङबाट वोनसानसम्म उडान, ४ रात रिसोर्ट बसाइ, त्यसपछि एक रात मासिकर्योङ स्की रिसोर्ट मा र अन्त्यमा राजधानी फर्किने कार्यक्रम तय गरिएको छ।

पर्यटन : उत्तर कोरियाको प्रतिबन्धबाहिरको आयश्रोत

अन्तर्राष्ट्रिय प्रतिबन्धका बीच, पर्यटन उत्तर कोरियाको केही बाँकी आयश्रोतहरूमध्ये एक हो। तर, वोनसान परियोजनाका लागि उसले कुनै ठूला विदेशी साझेदार पाउन सकेको थिएन। यो परियोजना आफ्नै पहलमा निर्माण गरिएको हो।

उत्तर कोरियाले केही महिना अघि अन्तर्राष्ट्रिय सहभागीहरू सहित म्याराथन कार्यक्रम पनि आयोजना गरिसकेको छ। वोनसान रिसोर्टलाई उसले आफ्नो 'सिर्जनात्मक आत्मनिर्भरता' को प्रतीकका रूपमा प्रचार गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको