नेपाली पुँजी बजारमा थप एक उत्पादनमुखी कम्पनीको प्रवेशका लागि आधार तयार भएको छ। एसियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासनको तयारी सुरु गर्दै हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
मिति २०८२ साउन १ गते (असार ३१) काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एसियन ब्याट्रीजका अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरे।
एसियन ब्याट्रीजले आफ्नो कुल जारी पुँजी ६५ करोडमध्ये २० प्रतिशत अर्थात् १३ करोड बराबरको १३ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो। मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगको सम्पर्क कार्यालय ललितपुर, सानेपामा रहेको छ।
वर्ष २०१३ देखि उत्पादन थालेको एसियन ब्याट्रीज लिड–एसिड ब्याट्री उत्पादनमा संलग्न एक घरेलु कम्पनी हो। यसले विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर, र सोलार उपकरणमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आन्तरिक बजारमा आपूर्ति गरिरहेको छ।
कम्पनीले लिड र अक्साइड जस्ता कच्चा पदार्थहरू समेत आफ्नै उद्योगमा प्रशोधन गर्दै आएको छ। निकट भविष्यमा लिथियम–आधारित ब्याट्री उत्पादन र प्रयोग भइसकेका ब्याट्रीहरूको पुनःप्रशोधन (recycling) सुरु गर्ने योजनासमेत रहेको छ।
एसियन ब्याट्रीजले आफ्ना उत्पादनहरूलाई गुणस्तरीय, भरपर्दो र वारेन्टीसहित उपभोक्तासमक्ष पुर्याउने लक्ष्य लिएको छ। देशभरका १० भन्दा बढी शाखाहरू मार्फत कम्पनीले ग्राहक सेवाको पहुँचलाई अझ सुदृढ बनाएको छ। नेपाली बजारमै निर्माण भएका ब्याट्रीहरू घरेलु र व्यावसायिक प्रयोजनका लागि उपयुक्त मात्र नभई लागतसमेत घटाउने विशेषता बोकेको कम्पनीको दावी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस