नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले सानिमा क्यापिटल लिमिटेडमा कार्यरत कम्प्लायन्स अफिसर रश्मि रिजालको असामयिक निधनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न जोडदार माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रिजालको निधनले सम्पूर्ण वित्तीय क्षेत्रका कर्मचारीलाई स्तब्ध बनाएको उल्लेख गर्दै दिवंगत रिजालप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
घटनाबारे विभिन्न प्रश्नहरू उठे पनि अनुमानका आधारमा निष्कर्ष निकाल्नुभन्दा पनि कार्यस्थलको वातावरण र संस्थागत व्यवहाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने संघको ठहर छ। परिवारले उठाएका जायज प्रश्न र अनुसन्धानप्रति बढ्दो सार्वजनिक चासोलाई मध्यनजर गर्दै संघले वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिनको माग गरेको छ। साथै, अनुसन्धानका क्रममा मानसिक उत्पीडन, दुर्व्यवहार वा कानुनविपरीतका कार्य पुष्टि भएमा दोषी जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गरिएको
त्यस्तै, संघले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलगायत पुँजीबजार तथा वित्तीय क्षेत्रका नियामक निकायहरूलाई कर्मचारीको कार्यदबाब, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य र श्रम अधिकारको विषयमा विशेष अध्ययन गरी अविलम्ब सुधारात्मक कदम चाल्न आग्रह गरेको छ।
पछिल्लो समय वित्तीय क्षेत्रमा कर्मचारीमाथि बढेको अस्वाभाविक कार्यबोझ, सीमित जनशक्तिबाट अत्यधिक काम लिने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय र मानसिक स्वास्थ्यप्रतिको संस्थागत बेवास्ता गम्भीर चिन्ताको विषय बनेको संघको निष्कर्ष छ। यस्ता नकारात्मक परिस्थितिहरूले कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक जीवन र पेशागत कार्यक्षमतामा असर पार्दै आएको बताउँदै संघले कुनै पनि संस्थाको व्यावसायिक सफलताभन्दा कर्मचारीको जीवन, सम्मान, मानसिक सुरक्षा र मानवअधिकार सर्वोपरि हुने स्पष्ट पारेको छ। साथै, नेपालको संविधान, श्रम ऐन तथा सुरक्षित एवं मर्यादित कार्यस्थलसम्बन्धी कानुनी र नैतिक व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नु प्रत्येक रोजगारदाताको प्रमुख दायित्व रहेको संघले स्मरण गराएको छ।
साथै, वित्तीय क्षेत्रका नियामक निकायलाई बैंक, वित्तीय संस्था, बीमा तथा पुँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न पहल गर्न आग्रह गरिएको छ। त्यस्तै, वित्तीय क्षेत्रका सबै रोजगारदातालाई कर्मचारीको मानसिक स्वास्थ्य संरक्षण, कार्यस्थलमा मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्न आवश्यक नीति तथा संयन्त्र तत्काल कार्यान्वयन गर्न संघले माग गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस