वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका शिक्षासम्बन्धी फर्म तथा व्यवसायहरूमा अनुगमन गरेको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लंघन गर्ने फर्महरूलाई जरिवाना तिराइएको र सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ।
‘काठमाडौं ग्लोबल एज प्रा.लि.’ लाई उपभोक्ता संरक्षण ऐनको दफा ३९(३) अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, ‘रिलिजेन्ट इन्टरनेशनल एजुकेशन प्रा.लि.’ र ‘फास्टलेन टेक्निकल इन्सिच्युट एण्ड टेन्सी प्रा.लि.’ लाई पनि क्रमशः एक लाख रुपैयाँ र एक हजार रुपैयाँ जरिवाना गरिएको छ।
अन्य फर्महरूमध्ये ‘ए मान ग्लोबल कन्सलटेन्सी प्रा.लि.’ लाई एक हजार रुपैयाँ, ‘कृष्ण फाउण्डेशन प्रा. लि.’ लाई २१ हजार रुपैयाँ, र ‘रुकमनी एण्ड ग्रेनाइट हाउस’ लाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘मिरेकल एजुकेशन सर्भिस’ र ‘इम्पायर नेपाल एजुकेशन प्रा.लि.’ लाई तीन दिनभित्र व्यवसायसम्बन्धी सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, ‘प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी’, ‘मि. ई. टि. यु. इन्टरनेशनल स्टडीज’, ‘आ.हि.पी. एजुकेशन नेपाल प्रा. लि.’ र ‘अनुकृत ट्रेड प्रा. लि.’ लाई आवश्यक सुधारात्मक निर्देशन दिइएको छ।
विभागले उपभोक्ताको हक तथा हित सुनिश्चित गर्न नियमित अनुगमनलाई तीव्र बनाएको जनाएको छ। उपभोक्ताको अधिकार उल्लंघन गर्ने तथा नियमविपरीत व्यापार गर्ने फर्महरूमाथि कानुनी कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस