नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक अस्थिरताको समाधानका लागि राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल र नयाँ पुस्ताका आन्दोलनकारीहरूलाई समेटेर सर्वपक्षीय संवाद सुरू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘निषेधको राजनीति’ त्यागेर सहकार्य, सह-अस्तित्व र संवादमार्फत राष्ट्रिय एकता बलियो बनाउने आवश्यकता रहेको बताएका हुन्।
श्रेष्ठले भने, “राजसंस्थासहित परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी आन्दोलनमा फरक मत राख्ने सबै पक्षलाई समेटेर सर्वपक्षीय संवादको ढोका खोल्न आवश्यक छ। यो अहिलेको समयको अत्यावश्यक आवश्यकता हो,” उनका शब्द थिए।
श्रेष्ठले हाल राजनीतिक दलहरूलाई कमजोर पार्ने र एनजीओहरूद्वारा प्रतिस्थापन गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले लोकतन्त्र र राष्ट्रियतामाथि खतरा ल्याएको चेतावनी दिए।
उनका अनुसार, “लोकतन्त्रको नाममा राजनीतिक दलहरूलाई एनजीओहरूले विस्थापित गर्न खोजिँदैछ। यो प्रवृत्तिले राष्ट्रियता र सार्वभौमसत्तामाथि गम्भीर संकट ल्याउनेछ,” उनले भने।
श्रेष्ठले राष्ट्रिय समस्या समाधानमा ढिलाइ गर्न नहुने चेतावनी पनि दिए।
उनले भने, “हामीले अहिले नै द्रुत गतिले सोच्नुपर्छ। समयले पर्खिँदैन। राष्ट्रियता, सार्वभौमसत्ता र सहअस्तित्वलाई जोगाउन सबै पक्ष एक ठाउँमा आउनैपर्छ।”
आफू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विचारधाराबाट प्रेरित रहेको बताउँदै श्रेष्ठले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र समाधानको राजनीतिमा ध्यान केन्द्रित गर्ने बताए।
“हामीले दलगत सीमाभन्दा माथि उठेर राष्ट्रको हितमा निर्णय गर्नुपर्छ,” उनले जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस