Like us!
Follow us!
Connect us!
Watch us!
कुन कम्पनीको कति ?

छ बीमा कम्पनीको धमाधम हकप्रद शेयर आउँदै

बुधबार, ०९ फागुन २०७४, १४ : ५८ मा प्रकाशित

छ बीमा कम्पनीको धमाधम हकप्रद शेयर आउँदै

अर्थ संसार, काठमाडौं– विभिन्न छ बीमा कम्पनीको ३ अर्ब ८ करोड २२ लाख ३ हजार ७१४ रुपैयाँ बराबरको हकप्रद शेयर आउने भएको छ ।

ती बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनका आधारमा हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । हकप्रद निष्कासन गर्नेमा चार जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी रहेका छन् ।

हकप्रद निष्कासन गर्नेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीलाई १६० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरिसकेको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउँछ ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै सूर्या लाइफ इस्योरेन्सले २८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्सले पनि हकप्रद बिक्रीको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्तापूँजीको २ बराबर १ को अनुपात २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९९ करोड ३६ लाख ४७ हजार ७५४ रुपैयाँको ९९ लाख ३६ हजार ४७७।५४ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

निर्जीवन बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले १० बराबर ३।५ को अनुपातमा हकप्रद शेयर बिक्रीका लागि पुस २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५३ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

शत प्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति माग्दै नेपाल इन्स्योरेन्सले पुस ४ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड १९ लाख ८८ हजार रुपैयाँको ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको