Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामै सुनको मूल्य साढे ८५ हजारले बढ्यो, माग न्यून हुँदा व्यवसायी पलायन हुने अवस्थामा

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १२ : ५० मा प्रकाशित

६ महिनामै सुनको मूल्य साढे ८५ हजारले बढ्यो, माग न्यून हुँदा व्यवसायी पलायन हुने अवस्थामा

नेपाली बजारमा पछिल्ला केही दिन देखि सुनको मूल्यले हरेक दिनजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ । अघिल्लो दिनको रेकर्ड आज ब्रेक भएको भयो र हालसम्मकै उच्च मूल्य कायम भयो । आज नेपाली बजारमा सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ तोला पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । 

सुनको मूल्य यसरी बढीरहेको छ कि दिन दुई गुना रात चौगुना भन्ने उखान अहिले सुनको मूल्यमा लागू भइरहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै सुनको मूल्य ८५ हजार ७०० रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो दिन साउन महिनामा नेपाली बजारमा सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो । साउनदेखि पुस मसान्तसम्मको अवधिमा सुनको मूल्य साढे ८५ हजार भन्दा बढीले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । 

सुनको मूल्य लगातार बढ्दा कारोबार भने ठप्प जस्तै छ । अहिले सुन किन्न आउने ग्राहक नै नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यकले जानकारी दिए । नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण आन्तरिक भन्दा पनि बाह्य रहेको उनको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बैंकको ब्याजदर घटाएका कारणले सुनको मूल्य बढ्न पुगेको उनी बताउँछन् । सुनको मूल्य अहिलेको गतिमा बढ्दै जाँदा छिट्टै सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ पुग्ने अवस्था देखिन्छ । अहिले विश्व अर्थतन्त्रमा नै संकुचनको अवस्था रहेको र सुनका लागनीकर्ताको आकर्षण बढेकाले पनि सुनको मूल्य बढ्न पुगेको व्यवसायीहरुको भनाइ छ । सुनको मूल्य बढ्दा त्यसको माग भने निकै कम भइरहेको व्यवसायीहरु बताउँछन् । 

विभिन्न देशहरुबीचको द्धन्द्धका कारणले अहिले सुनको मूल्य बढी रहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । भारत र चीन बीचको व्यापार युद्ध जारी रहेको, रसिया युद्ध पनि जारी रहेको अवस्था, अमेरिकाले डलरलाई शसक्तिकरण गर्न खोजेको छ । चीनले दुर्लभ धातुलाई शसक्तिकरण गरेको छ । सेयर बजार पनि अस्थिर रहेकाले लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्न पुगेको उनी बताउँछन् । 
मूल्य बढेसँगै अहिले सिजनमा नै सुनको माग न्यून रहेको उनले वरिष्ठ उपाध्यक्ष शाक्यले जानकारी दिए । पहिले पहिले सिजनमा दैनिश ५० किलोसम्मको माग हुने गरेको भए पनि यो पटकको मंसिर महिनामा सुनको माग मुस्किलले १५ किलो पनि नपुगेको उनको भनाइ छ । यो पटक सुनको माग मंसिर महिना भन्दा तिहारको सयममा बढी रहेको उनले बताए । अर्को तर्फ सरकारले लगाएको विलाशिता करका कारणले नेपालमा सुनको मूल्य थप महंगो भएको छ । जुन मूल्य महासंघले तोक्छ त्यसमा थप २ प्रतिशत थपेर तिर्नु पर्ने भएकाले नेपाली ग्राहकले भने थप धेरै मूल्य तिर्नु परेको शाक्यको भनाइ छ । 

२४ वर्षमा २ लाख ६८ हजार ७०० मंहगो भयो सुन 

नेपाली बजारमा पछिल्लो २४ वर्षको इतिहासमा सुनको मूल्य २ लाख ६८ हजार ७०० रुपैयाँले मंहगो भएको छ । २०५९ सालको वैशाख महिनामा नेपाली बजारमा सुनको मूल्य ९ हजार ३०० रुपैयाँ मात्रै थियो । त्यो समयको ९ हजार रुपैयाँ तोलाको सुन पनि त्यस समयका लागि निकै महंगो थियो । आज भन्दा ८ वर्ष पहिले पनि सुनको मूल्य ५८ हजार ८०० रुपैयाँ मात्रै थियो । २०७५ सालको वैशाख महिनामा उक्त मूल्यमा सुनको कारोबार भएको थियो । त्यस यताका ८ वर्षमा नै सुनको मूल्य २ लाख १९ हजार २०० मंहगिएको छ । 

गत आर्थिक वर्षमा भने नेपाली बजारमा सुनको मूल्य ४४ हजार ५०० रुपैयाँले बढेको थियो । गत आवको एक आर्थिक वर्षमा वृद्धि भएको भन्दा दोब्बर बढीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नै सुनको मूल्य बढेको छ । अहिले सुनको मूल्य जुन रफ्तारमा बढेको छ यस गतिमा बढ्दा छिट्टै सुनको मूल्य ३ लाख पुग्न निश्चित छ । 

जहिले पनि महंगो सुन 

नेपाली बजारमा सुनको मूल्य जहिले पनि महंगो हुने गरेको छ । ९ हजार ३०० रुपैयाँ हुँदा पनि नेपाली बजारमा सुनको मूल्य निकै मंहगो नै थियो । अहिले २ लाख ७८ हजार रुपैयाँ पुग्दा पनि सुनको मूल्य महंगो नै छ । आजको मूल्यको तुलनामा २४ वर्ष पहिलेको सुनको मूल्य सस्तो लाग्ला तर, त्यो समयका लागि भने त्यो रकम पनि निकै महंगो नै थियो । नेपालीहरुको पारिश्रमिकको तुलनामा सुनको मूल्य निकै बढी हुने भएकाले सुनको मूल्य जहिले पनि महंगो नै मानिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको