कोरोना महामारी पछि बैंकहरुमा अधिक तरलताको अवस्था सिर्जना भयो । त्यस पछि बैंकको ब्याजदर घट्यो । न्यून ब्याजदरमा बैंकहरुले लगानीका लागि विभिन्न योजना सहित निजी क्षेत्रमा लगानी गरे । केही समय पछि बैंकमा रहेको अधिक तरलताको अवस्थामा परिवर्तन भयो । बैंकहरुसँग पैसा कम भयो । अनि ब्याजदर ह्वातै बढ्यो । जसले गर्दा फेरि बैंकमा अधिकत तरलताको अवस्था सिर्जना भयो । जुन अहिलेसम्म पनि कायमै रहेको छ ।
कोरोनाको समयमा कम ब्याजदरमा लिएको रकमको ब्याज एकै पटक अचाक्ली बढेपछि निजी क्षेत्र बैंकहरुप्रति संशकित भए । एकातिर ब्याजदर बढ्दा ब्याज रकम तिर्न मुस्कील भयो भने अर्को तिर व्यापार नहुँदा व्यवसायीहरु थप पिडामा परे । फेरि पनि अवस्था त्यस्तै हुन सक्ने आशंकाका बीच अहिले व्यवसायीहरुले कर्जा लिनका लागि डराइ रहेका छन् । जसले गर्दा अहिले नेपाल राष्ट्र बैंकले दैनिक रुपमा बजारबाट तरलता प्रशोचन गरिरहेको छ । बजारमा कर्जाको माग नहुदा अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता व्यवस्थापन निकै चुनौतिपूर्ण बन्दै गइरहेको छ । अर्को तर्फ व्यवसायीहरु भने अहिले नै कर्जा लिएर लगानी गर्ने सक्ने अवस्थामा देखिदैनन् । अवस्था के हुन्छ भन्ने विषयमा उनीहरु अझै पनि अलमलमा रहेका छन् ।
अहिले बजारमा माग नै कम भएको अवस्था छ । नेपालीहरुको क्रयशक्ति समेत अहिले कमजोर भएको अवस्थामा नयाँ उत्पादन बजारमा ल्याउने पक्षमा व्यवसायीहरु देखिदैनन् । लगानीका लागि सरकारले लिने नीति कस्तो हुन्छ भने प्रत्तिक्षामा अहिले व्यवसायीहरु हरेका छन् । लगानीका लागि व्यवसायीहरुको मनोबल बढ्न नसकेकाले लगानी बढ्न नसकेको र अर्थतन्त्र संकुचन कायमै रहेको विज्ञहरुको भनाइ छ । लगानीकर्ताको मनोबल बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले बताए । उनका अनुसार लगानी बढाउनका लागि व्यवसायीहरुको मनोबल बढाउने खालको सरकारी नीति आवश्यक रहेको छ । अहिलेकै अवस्थामा अर्थतन्त्रमा सुधार हुन नसक्ने र यसले थप लगानी बढाउने सम्भावना नरहेको क्षेत्रीले बताए ।
निजी क्षेत्रका व्यवसायीहरु अहिले निकै दुखमा रहेको र नयाँ लगानीका लागि सोच्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालको भनाइ छ । अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण नै नभएकाले कर्जा पनि जान नसकेको उनले बताए । ‘व्यवसाय गर्नु नै भूल गरिएको जस्तो अनुभव हुन थालेको छ । यहाँ उद्योग व्यवसाय कसैलाई पनि चाहिएको छैन,’ उनले भने । व्यवसायीको मनोबल नबढ्दासम्म कर्जा प्रवाह बढन् नसक्ने उनको भनाइ छ । यो अवस्थामा अर्थतन्त्रमा पनि सुधार नहुने र कर्जा माग पनि नबढ्ने उनी बताउँछन् ।
अब आउने सरकारलाई लगानीको वातावरण बनाउनुका साथै निजी क्षेत्रको मनोबल बढ्ने खालका कार्यक्रम ल्याउनु पर्ने चुनौति रहेको छ । अहिलेको संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि पनि सरकारले ठोस योजना अघि सार्नु पर्ने अवस्था छ । अघिल्ला सरकार जस्तो काम गर्न सकिएन भन्ने छुट अब आउने सरकारलाई हुने छैन । निर्वाचनबाट आएको परिणामबाट निजी क्षेत्र उत्साहीत बनेको छ । नयाँ बन्ने सरकारले ठोस योजना सार्वजनिक गरेर कार्यान्वयन गरेको खण्डमा अवस्थामा सुधार गर्न धेरै समय लाग्ने छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस