प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए ।
शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेका केसीले देशको संसद्को संरक्षकको भूमिका सभामुखले निर्वाह गर्नुपर्ने बताए।उनले जनताले राखेको विश्वासको रक्षा गर्नु संसद् र सरकार दुवैको साझा कर्तव्य भएको बताए।
उनले भने, ‘सभामुख कुनै पनि देशको संसद्को सांस्कृतिक तथा राजनीतिक प्रतिनिधित्व गर्ने प्रमुख संरक्षक हो। त्यसैले सभामुख सधैँ निष्पक्ष, पारदर्शी र संसदभित्र प्रत्येक सदस्यको विशेषाधिकार तथा सम्मानको रक्षकका रूपमा प्रस्तुत हुनुपर्छ। सभामुखको आसन ग्रहण गरेपछि उसले कुनै दलगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संविधान, प्रतिनिधिसभा नियमावली, संसदीय परम्परा र अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा मात्रै निर्णय लिनुपर्छ। हामी एक अर्काका शत्रु होइनौँ हाम्रो साझा शत्रु भनेको गरिबी, भोक, रोग, असम्पन्नता, अस्थिरता, भ्रष्टाचार र विधिहीनता हुन्। यी समस्याको अन्त्यका लागि संसद्ले प्रभावकारी भूमिका खेल्न आवश्यक छ। ऐतिहासिक जनमतबाट निर्वाचित वर्तमान संसद्ले जनताको आकाङ्क्षा सम्बोधन गर्दै दण्डहीनताको अन्त्य, सुशासन स्थापना र भ्रष्टाचारमुक्त समाज निर्माणतर्फ अग्रसर हुनुपर्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस