Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चार मन्त्रीको १०० दिन : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र घरमा पुराइयो

अर्थ संसार

शनिबार, २० असार २०८३, १७ : ४६ मा प्रकाशित

सञ्चार मन्त्रीको १०० दिन : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र घरमा पुराइयो

सूचना तथा सञ्चार मन्त्रालयले करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् सेवाग्राहीको घरमा पुराइएको जनाएको छ । सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको एक सय दिनको अवसरमा आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै राहदानी र सवारी चालक नागरिकको घरघरमा पुराइएको बताएका छन् । उनले एक सय दिनमा नागरिकहरु लाभान्वित हुने धेरै काम गरेको बताएका छन् ।

प्रगति विवरणअनुसार हालसम्म २ लाख ७८ हजार ३४ थान राहदानी जिल्ला प्रशासन कार्यालयहरूमा ढुवानी गरिएको छ। त्यसमध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयसँग सम्झौता भइसकेको छ भने ६ हजार २९३ थान राहदानी सेवाग्राहीको घरदैलोमै वितरण गरिएको छ। हुम्ला र भोजपुर जिल्लामा भने सेवा विस्तारका लागि छलफल भइरहेको जनाइएको छ।

राहदानी, चिठीपत्र तथा अन्य सरकारी सामग्री हुलाकमार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउने व्यवस्था गर्न राहदानी विभाग र हुलाक सेवा विभागबीच २०८३ असार १९ गते औपचारिक सम्झौता भएको छ।

सवारी चालक अनुमति पत्र वितरणलाई पनि हुलाक सेवासँग जोडिएको छ। यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ४४ थान सवारी चालक अनुमति पत्र गोश्वारा हुलाक कार्यालयमार्फत सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा ढुवानी गरिएको छ। त्यसमध्ये कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालिकोट, बझाङलगायत जिल्लामा १ हजार ९३ थान लाइसेन्स सेवाग्राहीको घरमै पुर्‍याइएको छ भने अन्य जिल्लामा पनि सेवा विस्तारको तयारी भइरहेको छ।

प्रगति विवरण अनुरुप  सरकारले नागरिकलाई सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यका साथ हुलाक सेवालाई आधुनिक बनाउँदै ‘गभर्नमेन्ट कुरियर सर्भिस (Government Courier Service)’ का रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिएको छ। यसअन्तर्गत राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात घरमै पुर्‍याउने सेवा विस्तार गरिएको छ।

हुलाक सेवालाई थप प्रभावकारी बनाउन डाँकरेखा पुनरावलोकन गरी २०८३ वैशाख ३१ गतेदेखि नयाँ प्रणाली लागू गरिएको छ। यसबाट सेवा प्रवाहको समय र लागत घट्ने अपेक्षा गरिएको छ। त्यस्तै, हुलाकको पोस्टल कोड प्रणालीलाई स्तरोन्नति गर्दै सात अङ्कीय (७ Digit) प्रणालीमा रूपान्तरण गरी Postal Internal Tracking System (PITS) मा अद्यावधिक गरिएको छ। यसको विवरण विश्व हुलाक संघ (UPU) लाई समेत पठाइएको सरकारको भनाइ छ।

शैक्षिक प्रमाणपत्र वितरणलाई पनि हुलाक सेवामार्फत विस्तार गरिएको छ। नेपाल खुला विश्वविद्यालयसँग भएको सम्झौताअनुसार विद्यार्थीका प्रमाणपत्र तथा अन्य कागजात घरदैलोमै पुर्‍याउने सेवा सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सेवा सञ्चालनका लागि छलफल जारी रहेको र पदाधिकारीको अभावका कारण सम्झौता अन्तिम चरणमा पुग्न नसके पनि २६३ वटा शैक्षिक प्रमाणपत्र ढुवानी सुरु भइसकेको छ।

स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा पनि हुलाकको भूमिका विस्तार भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको पूरक सम्झौताअनुसार १७ वटा अस्पतालबाट १ हजार २३८ वटा प्रयोगशाला नमूना नियमित रूपमा ओसारपसार भइरहेको छ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा ७० जिल्लाका जिल्ला तथा पालिका स्वास्थ्य कार्यालयमा ४ हजार ६८६ किलोग्राम स्वास्थ्य शिक्षा सम्बन्धी सामग्री ढुवानी गरिएको छ। स्वास्थ्य बिमा बोर्डसँगको सम्झौतापछि २०८३ जेठ १९ गतेदेखि स्वास्थ्य बिमा सम्बन्धी सामग्री ढुवानी सेवा पनि सञ्चालनमा आएको छ। हालसम्म २८ जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका कार्यालयमा २ हजार ४२० किलोग्राम सामग्री पुर्‍याइएको छ।

हुलाक सेवा विभागले वैदेशिक हुलाक सेवामा समेत सुधार गरेको छ। विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको काउन्टर हुलाक खुलेका दिनमा पनि सञ्चालन हुने व्यवस्था गरिएको छ। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई छिटोछरितो बनाउन द्रुतमार्ग (फास्ट ट्र्याक) प्रणाली लागू गरिएको छ।

सरकारले हुलाक सेवालाई परम्परागत पत्राचारमा सीमित नराखी आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने अभियानलाई आगामी दिनमा अझ विस्तार गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको