Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ सोपान फर्मास्युटिकल्सको आइपीओ ? आवेदन दिनुअघि हेरौं कम्पनीको अवस्था

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १० : ५७ मा प्रकाशित

कस्तो छ सोपान फर्मास्युटिकल्सको आइपीओ ? आवेदन दिनुअघि हेरौं कम्पनीको अवस्था

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ खुला गरेको हो।

कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गरिएको हो। प्रति कित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता  सेयरमध्ये केही हिस्सा छुट्याएर बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत पनि आवेदन दिन सकिनेछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ् गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ् नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ् संस्था केयर रेटिङ् नेपाल, काठमाडौँबाट रेटिङ् गराएको छ। केयर रेटिङ् नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी माइनस इस्यूअर रेटिङ् प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ७० पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ३३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषहरु ३२ करोड ९० लाख २३ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा थियो। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले जगेडा कोष ४७ करोड ४७ लाख ८६ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको