Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा असुलीमा सास्ती - बैंकहरूसँग थुप्रियो ४६ अर्ब ८० करोड गैरबैंकिङ सम्पत्ति

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, १५ : २७ मा प्रकाशित

कर्जा असुलीमा सास्ती - बैंकहरूसँग थुप्रियो ४६ अर्ब ८० करोड गैरबैंकिङ सम्पत्ति

नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन चुनौतीपूर्ण बन्दै जाँदा बैंकहरूले धितो सकारेर राख्नुपर्ने गैरबैंकिङ सम्पत्तिको थुप्रो तीव्र रूपमा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १८.८९ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको जेठ मसान्तसम्म ३८ अर्ब ७९ करोड रुपैयाँबराबर रहेको यस्तो सम्पत्तिमा एक वर्षको अवधिमै ८ अर्ब १० करोड रुपैयाँ थपिएको छ। गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढी बोक्नेमा हिमालयन बैंक ६ अर्ब २३ करोड ८५ लाख ९० हजार रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै,ग्लोबल आइएमई बैंकमा ५ अर्ब ८९ करोड ११ लाख ७० हजार रुपैयाँ यस्तो सम्पत्ति रहेको छ।  नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ४ अर्ब ७० करोड ३२ लाख २० हजार रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ।

एनआईसी एसिया बैंकमा पनि ४ अर्ब १७ करोड ७१ लाख ४० हजार रुपैयाँको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने गैरबैंकिङ सम्पत्तिको अनुपात शून्य कायम राख्दै  वित्तीय अनुशासन प्रस्तुत गरेको छ। 

नबिल बैंकमा ३ अर्ब ३८ करोड, कुमारी बैंकमा २ अर्ब ४५ करोड, लक्ष्मी सनराइजमा २ अर्ब ४४ करोड र एनएमबी बैंकमा २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको गैरबैंकिङ सम्पत्ति रहेको छ। सरकारी स्वामित्वको कृषि विकास बैंकमा १ अर्ब ३८ करोड देखिए पनि नेपाल बैंकमा २३ करोड ३६ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ३१ करोड ४ लाख गैरबैंकिङ सम्पत्ति रहेको छ।  

के हो गैरबैंकिङ सम्पत्ति ?

गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) भन्नाले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोको रूपमा लिएको सम्पत्ति हो । ऋणीले कर्जा तिर्न नसक्दा बैंकले आफ्नो स्वामित्वमा लिन्छन्। उदाहरणका लागि, यदि कुनै व्यक्ति वा संस्थाले बैंकबाट लिएको कर्जा समयमा तिर्न सकेन भने, बैंकले उक्त कर्जाको धितोमा राखिएको सम्पत्ति—जस्तै घर, जमिन, वा अन्य अचल सम्पत्ति—जफत गरी आफ्नो स्वामित्वमा ल्याउँछ। यस्ता सम्पत्तिहरूलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले यस्ता गैरबैंकिङ सम्पत्तिहरूलाई सकेसम्म चाँडो बिक्री गरी नगदमा परिणत गर्नुपर्ने हुन्छ, ताकि ती सम्पत्तिहरू बैंकको नियमित कारोबारमा प्रयोग गर्न सकियोस् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको