Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चयकर्ताको बोनसबाट पौने ३ अर्ब

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : १० मा प्रकाशित

सञ्चयकर्ताको बोनसबाट पौने ३ अर्ब

अर्थ संसार, काठमाडौं– वेतन कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्न कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको बोनसबाट दुई वर्षमा पौन २ अर्ब रुपैयाँ जम्मा भएको छ । यो रकम सञ्चय कोषको मुनाफाबाट संकलन गरिएको हो ।
यो वर्ष कर्मचारी सञ्चय कोषले १ अर्ब ८९ करोड खुद नाफा कमाएको छ । सञ्चय कोषका कायममुकायम प्रशासक दीपक रौनियारका अनुसार खुद मुनाफाको ८१ प्रतिशत हुने गरी १ अर्ब ५३ करोड रुपैयाँ सञ्चयकर्ता सेयर लगानी
कोषमा जम्मा गरिएको हो ।

अघिल्लो वर्ष खुद मुनाफाबाट १ अर्ब २९ करोड रुपैयाँ यो कोषमा जम्मा भएको थियो। कोषमा २ अर्ब ८२ करोड जम्मा भएको रौनियारले जानकारी दिए । सञ्चयकर्ताले जम्मा गरको  रकमबाट कमाएको नाफा पुनः सञ्चयकर्ताको हितमा
लगाउन विद्युत् आयोजनामा लगानी गर्न लागिएको रौनियारले बताए ।

‘विद्युत् आयोजना निर्माण गर्दँ सञ्चयकर्ताले सेयर पनि पाउँछन्,’ उनले भने, ‘यसले आन्तरिक स्रोतबाट ठूलो जलविद्युत् आयोजना पनि बन्छ ।’ सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणको लगानीमा ६ सय ८८ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजना बन्न लागेको छ ।

यसका लागि वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी स्थापना भइसकेको छ । यसमा ४० प्रतिशत सेयर  सञ्चयकर्ताको रहनेछ । सुर्खेतमा बन्ने आयोजनाको कुल लागत ७० अर्ब हुने अनुमान छ । आयोजनाको विस्तृत
प्रतिवेदन (डीपीआर) बनाउने काम भइसकेको कायममुकायम प्रशासक रौनियारले जानकारी दिए ।

‘१८ महिनामा काम सकाउने गरी चार महिनाअघि नै डीपीआरको काम सुरु भइसकेको छ,’ उनले भने, ‘आयोजनाका लागि अधिकांश लगानी सञ्चय कोषले गर्ने भएकाले स्रोतको अभाव हुन्न । डीपीआरलगत्तै आयोजना सुरु हुन्छ ।’ उनका अनुसार आयोजनामा ४० प्रतिशत सेयर सञ्चयकर्ताको हुनेछ । त्योमध्ये ८ अर्ब सञ्चयकर्ता, ३ अर्ब सञ्चय कोष, २ अर्ब नेपाल विद्युत् प्राधिकरण, २ अर्ब प्रवद्र्धक कम्पनी र ५ अर्ब सर्वसाधारणको लगानी रहनेछ । बा“की ६०
प्रतिशत कोषले नै ऋण लगानी गर्नेछ ।

सञ्चयकर्ताको लगानी ८ अर्ब सञ्चयकर्ता सेयर लगानी कोषबाट गर्ने तयारी छ । सञ्चय कोषले कमाएको ४ वर्षको नाफाबाट यो लगानी उठ्ने अनुमान छ । वेतन कर्णालीको प्रवद्र्धक कम्पनीलाई सञ्चय कोषले आयोजनामा लगानीका लागि ५० अर्ब ऋण दिने भएको छ । यो रकम लगानीको ६० प्रतिशत हुन आउँछ । ५ लाख ६० हजार सञ्चयकर्ता रहेको सञ्चय कोषले जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रतिबद्धता जनाएको छ ।

जसमध्ये १४ अर्ब लगानी गरिसकेको कोषले जनाएको छ । कोषले माथिल्लो तामाकोसी, स्याङ्जेन, रसुवागढी, माथिल्लो भोटेकोसीमा लगानी प्रतिबद्धता जनाएको छ । सञ्चय कोषले कमाएको खुद मुनाफाको ११ प्रतिशत करिब २१ करोड रुपैयाँ सञ्चयकर्ता कल्यणकारी कोषमा दाखिला गरिएको रौनियारले बताए ।

कल्याणकारी कोषबाट संस्थाले सञ्चयकर्तालाई काजकिरिया खर्च ३० हजार, दुर्घटना क्षतिपूर्तिबापत १ लाख २५ हजार,औषधोपचारका लागि ५० हजारसम्म, सुत्केरी खर्च दुईपटकसम्म ७ हजार ५ सयका दरले उपलब्ध गराउने मानव संसाधन विभाग प्रमुख अर्जुन गौतमले जानकारी दिए ।

उनका अनुसार कडा रोगको उपचारका लागि सञ्चयकर्तालाई सहयोग गर्ने उद्देश्यले सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना लागू गर्ने तयारीमा छ ।

वैदेशिक रोजगारीमा गएकालाई समेट्ने योजना

रेमिट्यासबापत भित्रिने रकमलाई समेत अवकाश कोषमा जम्मा गर्न मिल्ने गरी कार्यविधि निर्माण भइरहेको सञ्चय कोषले जनाएको छ । स्वरोजगार र वैदेशिक रोजगारीमा गएका नेपालीलाई समेट्न नयाँ योजना ल्याउने तयारी भएको कोषको मानव संसाधन विभाग प्रमुख अर्जुन गौतमले जानकारी दिए ।

उनका अनुसार कोषको सञ्चालक समितिले निर्णय गरेर अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि यो योजना लागू हुनेछ । जसअनुसार वैदेशिक रोजगारीमा गएकाहरू वा स्वउद्यम गर्ने जो कोहीले आफूले चाहेको रकम अवकाश कोषमा राख्न सक्नेछन् ।

कार्यविधिमा वर्षमा एकपटक रकम जम्मा गर्नेलाई पनि नियमित सञ्चयकर्ता मानिने प्रावधान भएको गौतमले जानकारी दिए । जम्मा गरेको रकम अवकाशपछिको अवधिमा एकैपटक झिक्ने वा पेन्सनका रूपमा लिन सक्ने सुविधा हुनेछ ।

‘कति वर्ष उमेर पुगेपछि झिक्न मिल्ने भन्ने विषयमा छलफल हुँदै छ,’ उनले भने, ‘अवकाश कोषमा
राखेको रकम सञ्चयकर्ताले निश्चित उमेर कटेपछि मात्रै झिक्न पाउनेछन् ।’ यो आर्थिक वर्षको अन्त्यसम्ममा यो योजना कार्यान्वयन गर्ने कोषको तयारी छ । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको