Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्षको दौडमा नाम जोडिएपछि सीताराम थपलियाको प्रतिक्रिया– आवेदन नै दिएको छैन

अर्थ संसार

शनिबार, २६ बैशाख २०८३, १७ : ४३ मा प्रकाशित

सेबोन अध्यक्षको दौडमा नाम जोडिएपछि सीताराम थपलियाको प्रतिक्रिया– आवेदन नै दिएको छैन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएको भन्ने समाचार सार्वजनिक भएपछि सीताराम थपलियाले त्यसप्रति असन्तुष्टि जनाएका छन्। उनले आफूले बोर्ड अध्यक्ष पदका लागि कुनै पनि आवेदन नदिएको स्पष्ट पारेका हुन्।

थपलियाले केही सञ्चारमाध्यममा आफ्नो नाम सेबोन अध्यक्षको दाबेदारका रूपमा उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गरिएको बताएका छन्। उनका अनुसार आफू बोर्ड अध्यक्षको प्रतिस्पर्धामा नरहेको र आवेदन प्रक्रियामा समेत सहभागी नभएको स्पष्ट छ।

यता बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया भने पछिल्लो समय थप चर्चामा आएको छ। अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टले आफ्नो नजिकको नातेदारले आवेदन दिएपछि स्वार्थ बाझिने अवस्था सिर्जना भएको भन्दै समितिबाट राजीनामा दिएका छन्।

धितोपत्रसम्बन्धी कानुनी व्यवस्थाअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्यक्ष छनोट सिफारिस समिति गठन हुने प्रावधान छ।

समितिले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेपछि तोकिएको समयभित्र ४७ जनाबाट आवेदन परेको जनाइएको छ। आवेदन दिएका उम्मेदवारमध्ये योग्य ठहरिएका तीन जनाको नाम अन्तिम सिफारिसका लागि मन्त्रिपरिषद्मा पठाइने व्यवस्था रहेको छ।

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड अध्यक्ष पद रिक्त छ। नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिरहेका बेला विभिन्न नाम सार्वजनिक भइरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको