सीईडीिबी होल्डिङ्स लिमिटेडले आफ्नो सञ्चालक समितिमा परिवर्तन गर्दै युवा उद्यमी अविनाश सिलवाललाई नयाँ सञ्चालक नियुक्त गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पठाएको जानकारीअनुसार श्रावण ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक संगीता रौनियारलाई फिर्ता बोलाउने तथा उनको स्थानमा अविनाश सिलवाललाई सोही मितिदेखि लागू हुने गरी सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त निर्णयबारे सेबोन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई औपचारिक जानकारी गराएको छ।
अविनाश सिलवाल नेपालका उदाउँदा युवा उद्यमीमध्ये एक हुन्। उनी हाल मेरोकिसान लिमिटेडका प्रबन्ध निर्देशक हुन्। कृषि क्षेत्रमा प्रविधि, आपूर्ति प्रणाली र बजार व्यवस्थापनलाई जोड्दै अघि बढेको मेरोकिसानले किसान सशक्तीकरण, कोल्ड चेन पूर्वाधार, उपभोक्ता ब्रान्ड विकास तथा ताजा कृषि उपजको डिजिटल व्यापारमार्फत आफ्नो अलग पहिचान बनाएको छ।
कोभिड–१९ महामारीका बेला स्थापना भएको मेरोकिसानले छोटो अवधिमै कृषि मूल्य शृङ्खलामा नवीन व्यवसायिक मोडल विकास गर्दै नेपालको अग्रणी एग्रि–इन्टरप्राइजका रूपमा परिचय बनाएको छ। कम्पनीलाई खाद्य सुरक्षा, कृषि नवप्रवर्तन तथा स्टार्टअप इकोसिस्टममा उल्लेखनीय योगदान पुर्याएको संस्थाका रूपमा समेत हेरिने गरिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस