Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्वमा फेरि तनाव चुलिने संकेत, इरानको शान्ति प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १२ : ०१ मा प्रकाशित

मध्यपूर्वमा फेरि तनाव चुलिने संकेत, इरानको शान्ति प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

इरान–अमेरिका युद्ध अन्त्य गर्ने प्रयास असफल बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पेश गरेको नयाँ शान्ति प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै अस्वीकार गरेका छन् । इरानले पनि अमेरिकी प्रस्तावलाई “आत्मसमर्पणको प्रयास” भन्दै कडा प्रतिक्रिया दिएको छ । यससँगै मध्यपूर्वमा फेरि तनाव बढ्ने संकेत देखिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत इरानको प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका हुन् । उनले इरानको आणविक कार्यक्रम नियन्त्रणमा आएको दाबी गर्दै अमेरिका इरानको समृद्ध युरेनियम भण्डारणमाथि निरन्तर निगरानी गरिरहेको पनि बताएका छन् । ट्रम्पले चेतावनीपूर्ण शैलीमा “यदि कोही त्यहाँ पुग्यो भने हामीलाई थाहा हुन्छ र हामी उनीहरूलाई ध्वस्त पार्नेछौं” भनेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले आफ्नो केही उच्चस्तरको समृद्ध युरेनियमलाई कमजोर पार्ने तथा बाँकी अर्को देशमा सार्ने प्रस्ताव गरेको थियो । तर वार्ता असफल भए वा अमेरिका सम्झौताबाट पछि हटे युरेनियम फिर्ता गरिनुपर्ने ग्यारेन्टी इरानले माग गरेको बताइएको छ। इरानले भने अमेरिकी प्रस्ताव आफ्नो सार्वभौमिकतामाथिको दबाब भएको आरोप लगाएको छ। तेहरानले युद्ध क्षतिपूर्ति, आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, जफत गरिएका सम्पत्ति फिर्ता गर्नुपर्ने तथा होर्मुज जलडमरूमाथि पूर्ण इरानी नियन्त्रण हुनुपर्ने माग अघि सारेको छ।

इरानी राष्ट्रपति मसउद पेजेशकियानले “संवादको अर्थ आत्मसमर्पण होइन” भन्दै इरान कहिल्यै दबाबमा नझुक्ने बताएका छन्। त्यस्तै इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सैन्य नेतृत्वसँग बैठक गर्दै “शक्तिशाली प्रतिकार जारी राख्न” निर्देशन दिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त नभएसम्म युद्ध अन्त्य नहुने बताएका छन्। उनले इरानको समृद्ध युरेनियम हटाएर आणविक केन्द्रहरू ध्वस्त पार्नुपर्ने बताएका हुन्।

युद्धका कारण विश्व अर्थतन्त्रमा समेत असर परेको छ । इरानले रणनीतिक महत्वको होर्मुज जलडमरूमा नियन्त्रण कडा बनाएको छ, जसका कारण अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ। अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूले उक्त क्षेत्रमा समुद्री सुरक्षा बल परिचालन गर्ने तयारी गरिरहेका छन्। तर इरानले विदेशी युद्धपोत परिचालन गरिए “तत्काल र निर्णायक जवाफ” दिने चेतावनी दिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको