अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवाटारमा ग्रहण गर्दै उहाँले भन्नुभयो – “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।”
प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्छ भन्दै नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठूलाठूला बजार रहेकाले निर्यातमा समस्या नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन, कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।”
देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यकपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब बन्द र हडतालको समय सकिएकाले निर्वाध ढंगले लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले विकास र समृद्धिका लागि परिसंघले तयार गरेको सुझावसहितको मार्गचित्र प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि सरकारसंग आग्रह गर्नुभयो ।
उद्योग व्यवसाय क्षेत्रमा भएका कानूनी अड्चन हटाउने सरकारको प्रतिबद्धता छ ।
सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस