पर्वतको जलजला गाउँपालिका–७ धाईरीङमा बिहीबार साँझ परेको असिनाले नष्ट गरेको तरकारी खेती । यस क्षेत्रमा परेको असिनाले कृषकले लगाएको तरकारीलगायत अन्य बाली नष्ट गरेको छ । तस्वीर: सन्तोष गौतम, म्याग्दी, रासस
अर्थ संसार, बाबियाचौर, म्याग्दी– बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पुर्याएको छ ।
बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पुर्याएको हो ।
भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असिनाले नष्ट गरेपछि कृषक जलजला–७ धाइरिङका अगुवा कृषक एकनारायण पौडेलले निराशा व्यक्त गर्नुभयो ।
बीउ उत्पादनका लागि लगाइएको काँक्रो, घिरौँला, गोलभेँडाका बिरुवाका साथै ताजा तरकारी असिनाले चुटेर नष्ट गरेको छ । धाइरिङमा मात्र करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको कृषक पौडेलले बताउनुभयो ।
खबरा, बेनी, आनन्दबगर, मिलनचोक, मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा क्षेत्रमा बाक्लो असिना परेको थियो ।
हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन् । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस