अर्थ संसार, काठमाडौँ– रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण सेयर (आइपिओ) को बाँडफाँट आइतबार हुने भएको छ ।
रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण सेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिनुभयो ।
दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए ।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।
दुवै कम्पनीको साधारण सेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता सेयर छुट्याइएको थियो । ती आवेदनबाट रु ११ अर्ब संकलन भएको छ ।
रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए ।
रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो । रसुवामै निर्माण भइरहेको ५७।३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस