अर्थ संसार, गाईघाट, उदयपुर–उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ । आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि अहिले बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
तामाङको घरमा रातिको समयमा धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घर तथा लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण वस्तु जलेर नष्ट भएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस