अर्थ संसार, काठमाडौं– करिब डेढ वर्षदेखि तरलता (लगानीयोग्य रकम) अभावको समस्या भोग्दै आएको वित्तीय क्षेत्र पछिल्ला दिनहरूमा सहज बन्न थालेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार सुस्त बनाएको, सरकारी खर्च बढ्न थालेको, निक्षेप बढ्दो दरमा रहेकोलगायत कारणले तरलता अवस्था सहज बनेको हो। बैंक तथा वित्तीय संस्थामा तरलता सहज बन्दै गए पनि उत्साहित भएर ऋण दिने अवस्था भइनसकेको बैंकरहरूले बताएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आइतबारसम्म बैंकहरूसँग ३४ अर्ब रुपैयाँ अधिक तरलता (अनिवार्य नगद मौज्दात (सीआरआरबाहेक) छ ।
यो बैंकहरूले लगानी दिन मिल्ने पैसा हो। ‘अहिले तरलता अवस्था सहज छ, यसकारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा रोक्नुपर्ने अवस्था छैन,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने।
यसकारण पछिला दिनहरूमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्दै गएको उनले बताए । हाल बैंकहरूसँग रहेको ३४ अर्ब रुपैयाँ अधिक तरलतामध्ये राष्ट्रिय वाणिज्य बैंकलगायत २/३ वटा बैंकसँग ५० प्रतिशतभन्दा बढी छ । यसकारण केही बैंकहरू अझै पनि समस्यामा रहेको स्रोतले बताएको छ ।
‘२/४ वटा बैंकहरू अझै पनि चापमा छन्,’ एक बैंकरले भने, ‘बाँकीको अवस्था भने सहज बन्दै गएको छ ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार आइतबारसम्म वाणिज्य बैंकहरूको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात औसत ७६ देखि ७७ प्रतिशतसम्म छ ।
करिब डेढ महिनाअघिको तुलनामा अहिलको अवस्था निकै सहज हो। विगत एक–डेढ महिनायता राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेको बताउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकको भनाइ अस्वीकार गर्दै थप लगानी गर्न पैसा नभएको बताउँदै आएका थिए ।
यही कारण केही बैंकहरूले नयाँ कर्जा प्रवाह बन्द गर्नुपरकोे उनीहरूको भनाइ थियो। तर, अहिले परिस्थिति बदलिएको छ । यतिबेला बैंकहरूले पनि तरलता अवस्था सहज बन्दै गएको बताएका छन् ।
हाल बैंकहरूमा निक्षेप बिस्तारै बढ्न थालेकाले तरलता (लगानीयोग्य रकम) सहज बन्दै गएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अवस्था सहज बने पनि ठूलो ऋण प्रवाह गर्ने अवस्था अझै छैन,’ उनले भने, ‘बैंकहरूको कर्जा प्रवाह दर पहिलेभन्दा बढेको छ ।’ तरलता अवस्था सहज बन्दै गए पनि बैंकहरूको लागत बढेकाले आधार ब्याजदर (बेस रट) घट्ने सम्भावना नभएको उनले बताए ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरक तीन महिनामा आधार ब्याजदरमा आएको परिवर्तनअनुसार ब्याजदर समायोजन गर्नुपर्छ । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थामा निक्षेपको औसत दर नै बढेकाले आधार दर घट्ने सम्भावना नरहेको अध्यक्ष ढुंगानाको भनाइ छ ।
हाल बैंकहरूमा तरलता अवस्था सहज देखिए पनि त्यो दीर्घकालीन नभएको बैंकर्स संघका पूर्वकार्यकारी सदस्य भुवन दाहालले बताए । ‘चैत मसान्तमा राजस्वबापत ठूलो रकम सरकारी ढुकुटीमा जाँदै छ,’ उनले भने, ‘त्यत्ति नै रकम बराबर सरकारी खर्च नबढेमा आउँदोवैशाखदेखि फेरि समस्या आउँछ ।’
तर, अपेक्षा गरिएअनुसार सरकारी खर्च बढेमा तरलता समस्या नआउने उनको भनाइ छ । उनले भने, ‘हालको सहज अवस्था कति दिन टिक्ला भन्ने कुरा सरकारी खर्चमा भर पर्छ ।’ तरलता सहज हुन थालेकाले बैंकहरूलाई केही राहत मिलेको बैंकर्स संघका कार्यकारी सदस्य अशोक शेरचनले बताए ।
यो अवधिमा बैंकहरूले कर्जा प्रवाह रोक्नुका साथै सरकारी खर्च पनि बढेकाले तरलता अवस्था सहज देखिएको उनको भनाइ छ । तरलता अवस्था सहज भइसके पनि बैंकहरूले आफूखुसी गर्न नपाएकाले तरलता समस्या लम्बाउन खोजिरहेको एक जानकारले बताए ।
‘बैंकमा नयाँ निक्षेप ल्याउनतर्फ उनीहरूले सोचेकै छैनन्, सुविधा सम्पन्न स्थानमा बसेर ब्याजदरमा तलमाथि गररे आसपमा निक्षेप खोसाखोस गरिरहेका छन्,’ उनले भने। नयाँ बचतलाई वित्तीय प्रणालीमा ल्याउन कुनै पहल नगरी मुनाफा मात्र बढाउने ध्याउन्नमा अधिकांश बैंकहरू रहेकाले ती संस्थाहरूको संस्थागत सुशासन कमजोर बन्दै गएको उनको भनाइ छ ।
‘सञ्चालकहरूको जसरी भए पनि मुनाफा बढाउँ भन्ने र उच्च व्यवस्थापनले पनि बोर्डकै निर्देशन शिरोधार्य गर्ने प्रवृत्ति मौलाएको छ,’ उनले भने। विगतका महिनाहरूमा जस्तै गत फागुनमा पनि निक्षेपभन्दा ऋण प्रवाह वृद्धिदर उच्च छ । सो अवधिमा निक्षेप ०.४९ प्रतिशतले बढ्दा कर्जा प्रवाह दर ०.७७ प्रतिशत छ ।
तर, चैत महिनाहरूमा कर्जा प्रवाहभन्दा निक्षेप वृद्धिदर बढी देखिएको छ । चालू आर्थिक वर्षको पहिलो (साउन) बाहेक बाँकी सबै महिनामा बैंकहरूको लगानी वृद्धिदर निक्षेप वृद्धिदरभन्दा उच्च रहँदै आएको कान्तिपुरमा समाचार छ ।
यही कारण वित्तीय प्रणाली असन्तुलन बन्दै आएको थियो। अब बिस्तार वित्तीय क्षेत्र लयमा फर्किने संकेत देखिन थालेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस