मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य आक्रमणपछि उत्पन्न तनावले विश्व उड्डयन उद्योगमा ठूलो असर पार्न थालेको छ। यात्रा अवरुद्ध हुनुका साथै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि सोमबार एसियाली एयरलाइन्स कम्पनीहरूको सेयर बजारमा उल्लेखनीय गिरावट देखिएको छ।
सोमबारको कारोबारमा हङकङस्थित क्याथे प्यासिफिक, अष्ट्रेलियाको क्वान्टास एयरवेज, सिंगापुर एयरलाइन्स तथा जापान एयरलाइन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। युद्धजन्य परिस्थितिका कारण हवाई यात्रा प्रभावित हुँदा लगानीकर्ताले उड्डयन क्षेत्रप्रति सावधानी अपनाएको देखिएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण दुबई र दोहा जस्ता प्रमुख अन्तर्राष्ट्रिय हवाई केन्द्रहरू लगातार तेस्रो दिन पनि बन्द रहँदा विश्वभर हजारौं उडान प्रभावित भएका छन्। यसका कारण दशौं हजार यात्रु विभिन्न विमानस्थलमा अलपत्र परेका छन्।
तनाव चर्किएसँगै तेल आपूर्ति जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले उकालो लागेको छ, जुन पछिल्ला महिनाकै उच्च स्तर मानिएको छ। तेल मूल्य वृद्धि एयरलाइन्स कम्पनीहरूको सञ्चालन लागत बढ्ने मुख्य कारण भएकाले सेयर बजारमा नकारात्मक असर परेको विश्लेषण गरिएको छ।
अष्ट्रेलियाको क्वान्टास एयरवेजको सेयर कारोबार सुरु हुँदा १० महिनायताकै न्यून स्तरमा झरेको थियो। पछि केही सुधार भए पनि कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको अवस्थामा कारोबार भइरहेको थियो।
त्यस्तै जापानको एएनए होल्डिङ्स, एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, मलेसियाको एयरएशिया एक्स तथा ताइवानका चाइना एयरलाइन्स र इभा एयरवेजको सेयर मूल्य पनि कम्तीमा ४ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ।
उडान सुरक्षालाई ध्यानमा राख्दै विभिन्न एयरलाइन्सहरूले मध्यपूर्व गन्तव्यका उडान अस्थायी रूपमा स्थगित गरेका छन्। क्याथे प्यासिफिकले दुबई र रियाधका सबै उडान अर्को सूचना नभएसम्म रद्द गरेको जनाएको छ भने सिंगापुर एयरलाइन्सले मार्च ७ सम्म दुबई आवतजावत रोक्ने निर्णय गरेको छ। जापान एयरलाइन्सले टोकियो–दोहा उडान अस्थायी रूपमा बन्द गरेको छ।
चीनका एयरलाइन्सहरूले मार्च २ देखि ८ सम्म मध्यपूर्वका झण्डै २६.५ प्रतिशत उडान रद्द गरिसकेको तथ्यांक प्रदायक भेरिफ्लाइटले जनाएको छ। कम्पनीका अनुसार हाल तत्कालीन अवरोध तीव्र देखिए पनि एयरलाइन्सहरूले दीर्घकालीन तालिका परिवर्तन गर्न भने अझै पर्ख र हेरको रणनीति अपनाइरहेका छन्।
यात्रुहरू भने अचानक उडान रद्द भएपछि समस्यामा परेका छन्। कतार एयरवेजमार्फत यात्रा गर्ने यात्रुहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन् भने कतिपय उडानहरू बीच बाटोमै फर्काइएको घटनासमेत सार्वजनिक भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस