Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार भित्रिने लगानीकर्ता कम

मंगलबार, ०४ बैशाख २०७५, ०८ : ४४ मा प्रकाशित

सेयर बजार भित्रिने लगानीकर्ता कम

अर्थ संसार, काठमाडौं– अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सेयर बजार नयाँ लगानीकर्ताको  प्रवेशमा कमी आएको छ ।

बजार घट्दो प्रवृतिमा रहेकाले नयाँ लगानीकर्ता भित्रिने क्रम घटेको हो। चालु आर्थिक वर्षमा सेयर बजारमा
८७ हजार २ सय ७८ जना नयाँ लगानीकर्ता भित्रिएका छन्। गत वर्ष बजारमा थपिएका नयाँ लगानीकर्ताको तुलनामा यो वर्षको संख्या करिब ६८ हजारले कम हो। आर्थिक वर्ष ०७३/७४ मा सेयर बजारमा १ लाख ५५ हजार ६ सय ८९ नयाँ  लगानीकर्ता भित्रिएका थिए ।

हाल दोस्रो बजारमा १२ लाख ३६ हजार ५४ जना लगानीकर्ता रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । हालसम्म नेप्सेको कारोबार प्रणालीमा दर्ता भएकामध्ये ९ लाख ३३ हजार पुरुष, ३ लाख २ हजार महिला र ६ हजार संस्थागत लगानीकर्ता छन् ।

यो वर्ष दोस्रो बजारमा भित्रिएका करिब ८७ हजार ३ सय लगानीकर्तामध्ये ५८ हजार ४ सय ७८ पुरुष, २८ हजार १ सय ५६ महिला र ६ सय ४८ संस्थागत लगानीकर्ता रहेको नेप्सेको तथ्यांक छ । अघिल्लो वर्ष सेयर बजारमा भित्रिएकामध्ये १ लाख ९ हजार पुरुष, ४५ हजार ७ सय २० महिला र ८ सय ३५ संस्थागत लगानीकर्ता थिए ।

यसले अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयर बजारमा भित्रिने नयाँ लगानीकर्ता घटेको पुष्टि हुन्छ । गत वर्षको तुलनामा यो वर्ष सेयर बजारमा नयाँ लगानीकर्ता घट्नुले नेप्से परिसूचक घटेको समयमा लगानीकर्ताको प्रवेश पनि कम हुन्छ भन्ने देखाउँछ । सामान्य लगानीको सिद्धान्तअनुसार सेयर बजार घटिरहेको समयमा मूल्य कम हुने  भएकाले लगानी बढाउने र बढेको समयमा धेरै मूल्यमा सेयर बिक्री गरी मुनाफा सुरक्षित गर्नुपर्छ ।

तर, यो सर्वमान्य सिद्धान्तविपरीत प्रवृति नेपाली लगानीकर्तामा देखिएको छ । नेप्से परिसूचक बढेको समयमा धेरै नयाँ लगानीकर्ता बजारमा भित्रिने र घटेको समयमा घट्नुबाट यो पुष्टि हुन्छ ।

गत आर्थिक वर्षमा नेप्से परिसूचक बढदो क्रममा थियो। सोही अवधिमा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार १ सय ७५ अंक) लाई पार गर्दै १ हजार ८ सय ८१ अंकको नयाँ रेकर्ड बनाएको थियो। यही वर्ष करिब डेढ लाख नयाँ लगानीकर्ता बजारमा थपिएका थिए ।

यो वर्षको सुरुदेखि सेयर बजार घट्दो क्रममा छ । गएको वर्षको तुलनामा यो वर्ष नेप्से करिब ६ सयले घटिसकेको थियो। हालै नेप्से सुधार हुँदै गएर १ हजार ३ सय विन्दु नजिक पुगिसकेको छ । बजारमा करिब साढे १२ लाख लगानीकर्ता देखिए पनि सक्रिय लगानीकर्ताको संख्या निकै कम रहेको नेप्सेले जनाएको छ ।

‘एक वर्षमा १ हजारवटा कारोबार गर्ने लगानीकर्ताको संख्या ३/४ जना मात्र देखिन्छ,’ स्रोतले भन्यो, ‘तथ्यांकमा सक्रिय लगानीकर्ता संख्या धेरै कम देखियो।’ हाल से यरद्वितीय बजारमा १२ लाख ३६ हजार लगानीकर्ता रहे पनि त्यति नै जना लगानीकर्ता छन् भन्ने होइन ।

हाल दोस्रो बजारमा एक जना व्यक्तिले ५० वटै ब्रोकरबाट सेयर कारोबार गर्न पाउँछ । यसरी कारोबार गर्दा एक व्यक्तिले हरेक ब्रोकर कार्यालयबाट छुट्टाछुट्टै लगानीकर्ता परिचय नम्बर पाउँछ । त्यो नम्बर नेप्सेको कारोबार प्रणालीमा दर्ता हुँदा जतिवटा कार्यालयबाट कारोबार भएको छ त्यतिवटै लगानीकर्ताका रूपमा रहन्छ ।

उदाहरणका लागि एक व्यक्तिले १० वटा ब्रोकर कार्यालयबाट कारोबार गरिरहेको छ भने, नेप्सेको तथ्यांकमा त्यही व्यक्तिलाई १० जना लगानीकर्ताको रूपमा गणना गरिन्छ ।

यसै लेदोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता संख्या धेरै देखिएको विज्ञहरूले बताए । वास्तविक लगानीकर्ता पहिचानका लागि एकल परिचयपत्रको व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले बताएको छ । यसका लागि सीडीएस एन्ड क्लियरि काम गरिरहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको