Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

सोमबार, २४ बैशाख २०७५, १३ : ४२ मा प्रकाशित

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

अर्थ संसार, काठमाडौँ– नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । 

दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ । चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । 

अध्ययन एवं अवलोकन भ्रमणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा वैशाख १५ गते सात सदस्यीय प्रतिनिधिमण्डल चीन गएको थियो । प्रतिनिधिमण्डलमा प्रवक्ता शर्मा, मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्यलगायत सहभागी हुनुहुन्थ्यो । 

प्रतिनिधिमण्डलले चीनमा रहेको रेलमार्गको पूर्वाधारबारे साताव्यापी अध्ययन सकेर शनिबार नेपाल फर्किएको थियो । चीन सरकारको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो । “भ्रमणका अवसरमा केरुङ–काठमाडौँ ७५ किमी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव ९डिपिआर० तयार पार्ने र नेपालको भौगर्भिक अवस्थाले पनि नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले रेलमार्गको सम्भाव्यता अनुसन्धान गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । 

चीनले नेपालका रेल अधिकारीलाई तालीम दिने र रेल नेटवर्क विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुई देशबीचको वार्ताका क्रममा चिनियाँ रेल प्रशासनका अधिकारीहरुले नेपालमा रेल मार्गको विकासका लागि राष्ट्रपति सी जिन पिङले उच्च प्राथमिकता दिनुभएको सुनाएका थिए । 

राष्ट्रपति जिन पिङले रेल प्रशासनका अधिकारीलाई नेपाललाई रेल मार्गको पूर्वाधारमा सक्दो सहयोग गर्न निर्देशन दिनुभएको वार्ताका क्रममा रेल मन्त्रीले नेपाली प्रतिनिधिमण्डललाई सुनाउनुभएको थियो । यसअघि गत मंसिरमा चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारी उक्त विषयमा छलफलका लागि नेपाल आएका र आगामी पुसअगावै ं थप छलफलका लागि नेपाल आउने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

चीनको अग्लो भागबाट नेपालमा रेल झार्न कस्तो प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा चिनियाँ प्राविधिकले गर्ने अध्ययन अनुसन्धानमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । विश्वमा अहिलेसम्म यति भिरालो स्थानबाट रेल नचलेको मन्त्रालयले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको