अर्थ संसार, रत्ननगर, चितवन– हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ ।
चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ ।
पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उहाँले क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ ।
“नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ,” उहाँले भन्नुभयो । यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए । अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ । चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस