अर्थ संसार, कामठाडौं– कहिले मोनो रेल त कहिले मेट्रो रेलको कथा सुनेका काठमाडौँबासीले पुनः अर्को राम्रै कथा सुन्न पाउने भएका छन् ।
दश वर्षमा काठाडौँमा मेट्रो, यति बर्षमा काठमाडौँमा मोनो रेल सुन्दा सुन्दै कान पाकेका काठमाडौँबासीले अब केवलकारको रमाइलो कथा सुन्नुपर्ने भएको छ ।
दश वर्षमा काठमाडौँलाई सिंगापुर बनाउने, मेलम्चीको पानीले सकड पखाल्ने, तथा हरियाली र सुन्दर शहर बनाउने भनेर नेताले दिएका भाषणमा रमाएका काठमाडौँबासी हिलो, धुलो र मैलोमा बस्न बाध्य छन ।
दैनिकी चालउन मुस्किल भएको छ । तर नेताका हवाई कल्पना सुन्दा सुन्दा थाकेका काठमाडौँबासीमाझ आएको केवलकारको सपना भने स्वदेशी नभई विदेशी कम्पनीको हो ।
केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएको दावी गर्ने फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने दावी गरेको छ ।
काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ ।
करीब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो ।
फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत रु तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन सरकारलाई हन्तान्तरण गरेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमण्डलको उपस्थितिमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
सम्भाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनियर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने बताएका छन् ।
प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छाैं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचारविमर्श गरिनेछ, आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उनले भने ।
काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य बिग्रन नदिन केबलकार परियोजना कार्यान्वयन अपरिहार्य भएको पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठको भनाइ छ ।
केबलकार स्टेशनका निम्ति जग्गा प्राप्तिजस्ता जटिल विषय सरकारले जुटाउनुपर्ने भएकाले महानगरपालिकाजस्ता निकायको पनि परियोजनामा उत्तिकै महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । सरकारले परियोजनामा साथ दिएमा त्यो निजी क्षेत्रले पूरा गरेरै छाड्ने उनको दावी छ ।
कालिका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डे सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताउछन् ।
ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ ।
जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसैकिसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ ।
त्यसैगरी गङ्गबु–बालाजु–सोह्रखुट्टे–कालीमाटी बल्खु–त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ । लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।
विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्न अभिरुचि देखाएका छन् ।
फरक फरक नारा र योजना सुन्दा सुन्दा दिक्क भएका काठमाडौँकासी माझ आएको यो पछिल्लो नारा कार्यान्वयन होला त ? मन्त्री महासेठको भनाइ छ – पहिला अध्ययन गरौ, त्यसपछि मात्रै भन्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस