Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, ३६ करोड राजस्व उठ्यो

शनिबार, १२ जेठ २०७५, १७ : २७ मा प्रकाशित

सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, ३६ करोड राजस्व उठ्यो

  • रमेश लम्साल

  • सिबी अधिकारी

अर्थ संसार, काठमाडौँ– यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३०  गतेदेखि सुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।

यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्षहरुमा भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ ।

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रकम रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ ।

विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार  सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार ३ सय १२ रोयल्टी संकलन भएको छ ।  सगमाथासँगै रहेको ल्होत्से हिमालबाटरु १ करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७ सय २०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९० आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुको फरक फरक नै रहेको छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नु पर्दछ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

संसारभर छाए कामीरिता

आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको हो । यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गर्नुभएको छ ।

सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गर्नुभएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

बाइस पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका छन् ।

यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सञ्चार माध्यमको ध्यान उहाँतर्फ केन्द्रित भएको हो ।

बेलायतको प्रसिद्ध गार्डियनको अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ । सो पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ, “कामीरिताले २५ पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।”

चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गर्नुभएका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसक्नुभएको छ । यसैगरी भारतको हिन्दूस्तान टाइम्स, बेलायको अर्को मिररको अनलाइन संस्करणले पनि कामीरिता र लाक्पाको कीर्तिमानको महत्वका साथ चर्चा गर्दै समाचार सामग्री प्रस्तुत गरेका छन् ।

यसैगरी अमेरिकाको एबीसी न्यूज, वासिङटन टाइम्स, सिकागो सन टाइम्स, पाकिस्तानको पाकिस्तान टुडे, क्यानडाको द स्टारलगायत विश्वप्रसिद्ध सञ्चार माध्यमले सर्वोच्च शिखरको आरोहणको समाचारलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखरको आरोहण गर्नुभएको थियो । सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजारले सगरमाथाको शिखर चुमेका छन् । यस्तै आरोहणका क्रममा २८६ जनाको निधन भएका

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । गत वर्षहरुमा भन्दा यस वर्ष आरोहण सहज देखिएको छ ।

विगतमा भन्दा कम क्षति

यस वर्षको वसन्त ऋतुको  सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एक जना मात्रै बेपत्ता भएका छन् । सोलुखुफर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ ।  

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा जानुभएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षहरुमा भन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो । यस्तै सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । यस्तै सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए । यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा विगतमा वर्षहरुमा भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताउनुहुन्छ । आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालिम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूणं आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उहाँको भनाइ छ । उहाँले आरोहणको रोयल्टी मध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको