Like us!
Follow us!
Connect us!
Watch us!

पाँचतारा बचत तथा ऋण सहकारीले १८ प्रतिशत लाभांश दिने

सोमबार, १२ कार्तिक २०७५, १३ : ५१ मा प्रकाशित

पाँचतारा बचत तथा ऋण सहकारीले १८ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– पाँचतारा बचत तथा ऋण सहकारीले १८ प्रतिशत लाभांश दिने भएको छ । नेफ्स्कुनका पूर्व अध्यक्ष एवं सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सभामा बोल्दै प्रधानाङ्गले छोटो समयमा पाँचतारा सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै सहकारीले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग पुर्याएको भए पनि राज्यले वेवास्ता गरेको बताए । उनले नेफ्स्कुनल सञ्चालन गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्डिङले वित्तीय व्यवस्थापनलाई सहयोग पुग्ने भएपनि सहकारीले समाजलाई के दिन सक्यो भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि डा. विष्णुहरि नेपालले समाजको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताए । सहकारीले रोजगारी सिर्जना र उत्पादन वृद्धिको प्रयास गरिरहेको भएपनि पूर्ण रुपमा सफल नभएको औंल्याउँदै उनले आर्थिक रुपान्तरणमा सहकारीको भूमिकालाई बढाउँदै लैजानुपर्ने उल्लेख गरे ।

सभामा बोल्दै सहकरी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीको सैद्धान्तिक विषयमा प्रकाश पार्दै संस्थाले शेयर पूँजी, बचत संकलन, ऋण लगानी र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने जनाए । उनले दुई तिहाइको सरकारले सहकारीलाई आर्थिक मोडलको रुपमा अघि लैजानुपर्ने भएपनि सहकारी क्षेत्र अहिले अन्यौलमा रहेको उल्लेख गरे ।

सभामा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी क्षेत्र सरकारको नजरमा अझै प्रतिष्ठित बन्न नसकेको भएपनि अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेको बताए । सहकारीले सदस्यमार्फत ससानो क्षेत्रमा लगानी गरेर उत्पादन बढाउन सके सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुनसक्ने चौलागाईंको विश्वास थियो ।

कार्यक्रममा काठमाडौं जिल्ला बचत संघका अध्यक्ष केशवप्रसाद दंगालले पाँच ताराले गरेको प्रगतिको प्रशंसा गर्दै फोर्स मर्जरको आवश्यकता रहेको औंल्याए । रहरमा जन्मेका र बाध्यतामा परेका सहकारीलाई पाँचतारा जस्ता ठूला सहकारीले एकिकरण गरेर अघि बढ्नुपर्ने बताए ।

निजामति ट्रेड यूनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले सदस्यहरुलाई उद्यमशील र व्यवसायिक बनाउन अहिलेको चुनौती रहेकाले त्यसतर्फ सहकारीको ध्यान जानुपर्ने बताए । कुल जनसंख्याको एक तिहाई जनसंख्या सहकारीको सदस्य बनेको अवस्थामा सहकारीको सही व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी रहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं पुष्कर साकोसका अध्यक्ष मनमोहन श्रेष्ठले सहकारीको संख्या धेरै भएपनि वित्तीय पहुँच भने बढ्न नसक्नुमा सहकारीको क्षमता कमजोर रहेको बताए । संख्यात्मक रुपमा धेरै सहकारी हुँदा विकृति बढेको भन्दै उनले राज्यका नियमन अनुगमन समेत कमजोर रहेको उल्लेख गरे ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोलानाथ पाठकले नयाँ व्यवस्थाअनुसार तीनवटै तहमा सहकारी हस्तान्तरण भएको भएपनि प्रदेश सरकारले ऐनकानुन नबनाउँदा आफूहरुलाई समस्या परेको उल्लेख गरे । सहकारीका सदस्य एउटै घरका परिवार भएको भन्दै उनले सदस्यहरुबीच हरेक कुरामा सहकार्य आवश्यक रहेको औंल्याए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, सामाजिक संघसंस्थालाई सहयोग जस्ता कार्यक्रम गर्दै आएको उनले बताए ।संस्थाका कोषाध्यक्ष कुमार विमलीले आ.व. २०७४/७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी ५ करोड ६२ लाख, बचत संकलन ३६ करोड ७४ लाख र ऋण लगानी ३६ करोड ९५ लाख रहेको जानकारी दिए ।

संस्थाले गत वर्षको आम्दानीबाट राज्यलाई ५५ लाख ८३ हजार कर तिरेको बताउँदै उनले सो अवधिमा २ करोड २३ लाख खुद मुनाफा आर्जन गरेको जानकारी दिए । संस्थाको जगेडा, प्राकृतिक विपत्ति, घाटापूर्ति र ऋण नोक्सानी कोषमा गरी ४ करोड ९८ लाख रकम जम्मा भइसकेको छ । संस्थाले सदस्यहरुलाई विभिन्न रेमिट्यान्स सेवाका साथै विद्युत, टेलिफोन, इन्टरनेट, डिसहोम रिचार्ज लगायतका सुविधा प्रदान गर्दै आएको छ । सभामा आवधिक, साधारण र अनिवार्य वचत तर्फका उत्कृष्ट सदस्यहरुका साथै उत्कृष्ट ऋणीलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले सभामा स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताल पाँचतारा सहकारीले गरेको प्रगतिको खुलेर प्रशंसा गरेका थिए ।

5bd6c198b4f2f.JPG 5bd6c19d6486d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको