अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वप्रसिद्ध विश्वविद्यालय हार्वर्डलाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत ट्रम्पले हार्वर्डलाई ‘हास्यास्पद’ संज्ञा दिँदै यसले अब शिक्षण संस्थाको हैसियत गुमाइसकेको दाबी गरेका छन्।
“हार्वर्ड अब न त शिक्षा दिने संस्था हो, न नै विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा पर्न लायक। यो संस्थाले घृणा र मूर्खता पढाउँछ,” ट्रम्पले लेखेका छन्।
उनले हार्वर्डको ट्याक्स फ्री (कर छुट) हैसियत हटाएर राजनीतिक संस्था सरह कर लगाउने चेतावनीसमेत दिएका छन्। यसअघि उनले विश्वविद्यालयको २.२ अर्ब डलर बराबरको संघीय कोष समेत रोकिदिएका थिए।
ट्रम्पको आरोपपछि हार्वर्ड विश्वविद्यालयका अध्यक्ष एलन गार्बरले विश्वविद्यालय कुनै पनि हालतमा आफ्नो संवैधानिक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता नगर्ने बताएका छन्।
उनका अनुसार ट्रम्प प्रशासनले विश्वविद्यालयमाथि राखेको ‘भ्यूपोइन्ट डाइभर्सिटी’ परीक्षण र डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन (DEI) कार्यक्रम हटाउने माग कानूनी आधारबाट हटेर गरिएको दाबी गरेका छन्।
ट्रम्पले हार्वर्डले न्यूयोर्क र शिकागोका दुई ‘सबैभन्दा असफल मेयरहरू’लाई शिक्षकको रूपमा नियुक्त गरेर अमेरिका नै अपमानित भएको तर्क गरेका छन्। उनले भने, “यी वामपन्थी मूर्खहरूले आफूले नास गरेका सहरको कथा पढाउन आएका छन्, र हार्वर्डले यस्ता असफलतालाई नेतृत्व भनेर प्रस्तुत गरिरहेको छ।”
उनले हार्वर्डका पूर्व अध्यक्षको ‘प्लेजियारिज्म’ प्रकरणको पनि स्मरण गर्दै विश्वविद्यालयको नेतृत्व स्वयं संकटग्रस्त रहेको आरोप लगाएका छन्।
विवाद चुलिँदै जाँदा हार्वर्डमाथि संघीय सरकारको हस्तक्षेप केवल आर्थिक मात्र नभई शैक्षिक स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा हेरिएको छ। यता, ट्रम्प पक्ष भने हार्वर्डजस्ता विश्वविद्यालयहरू ‘वामपन्थी राजनीतिकता’ले दूषित भएको र करदाताको पैसा त्यसैमा खर्च भएको’ आरोप लगाइरहेका छन्।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस