रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धनमा रहेको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको सामूहिक लगानी योजना “रिलायबल समृद्धि योजना” आज (वैशाख ३ गते) देखि सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री खुला गरेको छ।
१० वर्ष अवधिको बन्दमुखी प्रकारको म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना नेपालमै बीमा कम्पनीको कोष प्रवर्द्धनमा आएको पहिलो सामूहिक लगानी कोष हो।
यो योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ।
यसमा कुल इकाईमध्ये १५ प्रतिशत सुरक्षित राखिएको छ:
१४ प्रतिशत (१ करोड ४० लाख इकाई) कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई,
१ प्रतिशत (१० लाख इकाई) योजना व्यवस्थापक कम्पनी रिलायबल क्यापिटललाई,
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक निष्काशनमार्फत खुला गरिएको हो।
सार्वजनिक निष्काशनमा सहभागी हुन चाहने व्यक्तिहरू तथा संस्थाहरूले न्यूनतम १०० इकाई (रु १,०००) र अधिकतम १ करोड इकाई (रु १० करोड) सम्म आवेदन दिन सक्नेछन्। इकाईको मूल्य प्रतिएकाइ रु १० निर्धारण गरिएको छ।
आवेदन दिने अन्तिम मिति वैशाख ७ गते तोकिएको छ। तर उक्त अवधिमा सम्पूर्ण इकाई बिक्री नभएको खण्डमा निष्काशन अवधि वैशाख १७ गते सम्म खुला रहने जानकारी रिलायबल क्यापिटलले दिएको छ।
रिलायबल समृद्धि योजनाको इकाईमा आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू, वा सीडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो शेयर' अनलाइन पोर्टलमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त योजना निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड कार्यरत रहेको छ।
यस योजनाको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था CARE Ratings Nepal ले कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई CARE NP BBB+ (Triple B Plus) र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई CARE NP AMC Quality 4+ को रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीले यो योजनाबाट १७.७३ प्रतिशतको औसत वार्षिक प्रतिफल प्राप्त हुने प्रक्षेपण गरेको छ। बीमा कम्पनीको प्रवर्द्धनमा आधारित पहिलो फण्ड भएकाले लगानीकर्ताका लागि यो योजना विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस