Like us!
Follow us!
Connect us!
Watch us!
नअसुल्नेलाई भएको कारबाहीबारे जानकारी दिन अख्तियारलाई अर्को पत्र

एनसेलबाट पूँजीगत लाभकर तीन महिनाभित्र असुल्न ताकेता

आइतबार, ०२ माघ २०७३, १६ : ५१ मा प्रकाशित

एनसेलबाट पूँजीगत लाभकर तीन महिनाभित्र असुल्न ताकेता

अर्थ संसार

काठमाडौं–सार्वजनिक लेखा समितिले एनसेलको सेयर किनबेच हुँदा भएको नाफामा लाग्ने पूँजीगत लाभकर आउने ३ महिनाभित्र असुल्न अर्थ मन्त्रालयलाई आइतबार निर्देशन दिएको छ ।दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गत वर्ष एनसेलको मुख्य लगानीकर्ता रेनोल्ड होल्डिङ्सले बेचेको सेयरमा गरेको नाफाबाट तिर्नु पर्ने पूँजीगत लाभकर तिरेको छैन । 

 लेखा समितिको आइतबारको बैठकले ‘एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आयकर ऐन–२०५८ को प्रावधान बमोजिम निर्धारण गरी आगामी ३ महिनाभित्र असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिने,’ निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

यसअघि समेत समितिले दिएको निर्देशन आलटाल भएपछि समितिले कडा निर्देशन दिएको हो । अर्थ मन्त्री महरासमेत कर फस्र्यौट आयोग गठन गरेर एनसेललाई कर तिर्नबाट उन्मुक्ति दिने प्रपञ्चमा लागिरहेका बेला समितिको यस्तो निर्देशन आएको हो । 

लेखाले मन्त्रालयलाई कर असुल्न भएको प्रगति हरेक महिना  उपलब्ध गराउन भनेको छ । समितिले एनसेलको सेयर बिक्रीमा लाग्ने कर मुलुकभित्रको मात्र सरोकार नभएको बताउँदै अन्तर्राष्ट्रिय कर नियम आकर्षित हुने भन्दै अर्थ मन्त्रालयले जिम्मेवारी लिएर असुल्नु पर्ने निर्णय गरेको हो ।  

बैठकमा उपस्थित अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणी शर्माले करको सरोकार कर अधिकृतको भएको बताएका थिए । त्यसपछि लेखा समितिले अर्थ मन्त्रालयलाई सामूहिक जिम्मेवारी लिएर कर असुल्न निर्देशन दिएको हो ।

समितिले यसअघि गत जेठ १६ गते कर असुल नगर्ने निकाय र त्यसमा सम्लग्न अधिकारीलाई अनुसन्धान गरी तीन महिनाभित्र प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पठाएको थियो । अख्तियारले अहिलेसम्म यसबारे भएको प्रगतिको कुनै जानकारी दिएको छैन । लेखा समितिको बैठकले अख्तियारलाई यसबारे तत्कालै जानकारी दिन फेरि ताकेता गरेर पत्र पठाउने निर्णयसमेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको