ओखलढुंगा– झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ । तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ । उनीहरू सजिलै मन फुकाएर आफ्ना कथा भन्ने सक्ने स्थितिमा छैनन् । त्यसो गर्दा आफैंलाई गलपासो पर्ला भन्ने भय उनीहरूलाई छ ।
दुई वर्षअघि ठगीको अनौठो पासोमा परेको केत्तुकेको यो कथा कानेखुसीमै सीमित छ । स्थानीयका अनुसार केत्तुकेका करिब २ सय तामाङ घरधुरीमध्ये ६० प्रतिशतभन्दा ठगिएका छन् । जसमा २५ हजारदेखि ७ करोड रुपैयाँ गुमाउनेहरू छन् । ठगीको यो जालो ओखलढुंगा सदरमुकाम र चिशंखुगढी गाउँपालिकाको कुईभीरसम्म फैलिएको छ । आफन्त र चिनजानकै मान्छेबाट ठगिएका कारण उनीहरू यसरी चुपचाप बस्न बाध्य भएका हुन् । ‘धेरैजसोले पैसा माया मारिसकेका छन्,’ एक पीडितले भने, ‘सबै नभए पनि अलिअलि फिर्ता आउने आशाले प्रहरीमा उजुरी दिँदा उल्टै सम्बन्ध बिग्रिने डरले चुप छौं,’ ठगिनेमा सर्वसाधारणदेखि निर्वाचित जनप्रतिनिधिसम्म छन् ।
कान्तिपुरले गरेको स्थलगत अध्ययन र नाम गोप्य राख्ने सर्तमा दर्जनौंसँग गरिएको कुराकानीले देखाउँछ, गाउँका सबैको जोडदा करिब २० करोड रुपैयाँभन्दा धेरै रकम फसेको छ । अलिअलि आफ्नै लोभ, अलिअलि आफन्ती तथा गाउँलेले देखाएको विश्वास र अलिअलि अरूले आँखैअघि कमाएको देखेर यो गाउँका धेरैले पैसा ब्याजमा लगाएका थिए । मिटर ब्याजमा पैसा पाउने लोभमा केही हजारदेखि लाखौं रुपैयाँ ब्याजमा लगाएका धेरैले अहिले ब्याजको आशा त मारिसकेका छन् नै, साँवा पनि नपाउने स्थितिमा पुगेका छन् ।
ठगी धन्दाको यो लहरोमा जोडिएका छन्, केत्तुकेकै शर्मिला लामा, एक समय माओवादी नेतासमेत रहेका उनका श्रीमान् ज्ञानेन्द्र गुरुङ ‘कसम’ र काठमाडौंमा एजुकेसन कन्सलटेन्सीसमेत चलाएर बसेका कपिल बर्मा । माओवादी सशस्त्र द्वन्द्व चलिरहेका बेला शर्मिलाले सिन्धुपाल्चोक ठेगाना बताउने तत्कालीन माओवादी नेता ज्ञानेन्द्र गुरुङ ‘कसम’ सँग बिहे गरिन् । शान्ति स्थापनापछि उनी श्रीमानसँगै राजधानीमा बसेर स–साना व्यवसायमा संलग्न थिइन् । त्यहीबेला उनीहरूको परिचय कपिल बर्मासँग भयो ।
काठमाडौंको बानेश्वरमा इनोभेटिभ नेपाल नामक कन्सलटेन्सी चलाएर बसेका बर्मा रवाफिलो व्यक्तिका रूपमा परिचित थिए । शक्तिशाली व्यक्तिसँग गतिलो पहुँच बनाएका उनले एक समय अभिनेता राजेश हमाललाई आफ्नो कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर बनाएका थिए । ख्याति प्राप्त कलाकारलाई ब्रान्ड एम्बेस्डर बनाएकै कारण उनको चर्चा झनै बढेको थियो । साथै विद्यार्थीलाई टोफेल, आईएलटीएस जस्ता कक्षा गराएर अस्ट्रेलिया, बेलायतजस्ता मुलुक पठाउँथे ।
यिनै कपिलले ज्ञानेन्द्रमार्फत आफ्नो कम्पनीमा पैसा लगानी गरे राम्रो ब्याज पाउने खबर गाउँ पुर्याए । मासिक रूपमै सयकडा चार र पाँच (वार्षिक ६० प्रतिशत) सम्म ब्याज दिने प्रलोभनको हल्ला ‘एक कान, दुई कान, मैदान’ भयो । सुरुमा केही आफन्त र गाउँलेले लगानी पनि गरे । एक लाख लगानी गर्नेले एक महिनामै आफ्नो खातामा ५ हजारदेखि १० हजारसम्म ब्याज प्राप्त गरे । त्यसपछि त के चाहियो र, कम्पनीमा लगानी गर्न गाउँलेहरू आफैं अग्रसर भए ।
सुरु–सुरुमा कपिलले लगानीबापतको ब्याज गाउँलेको बैंक खातामा महिना मर्नेबित्तिकै हालिदिन्थे । घरमै बसीबसी कमाइ हुने भएपछि धेरैलाई मिटर ब्याजको धन्दाले आकर्षित गर्यो । यही लोभको पासोमा परेर धेरैले ब्याजबापतको रकममा थप खोजखाज गरेर पैसा थप्दै लगानी गर्न थाले । कतिले आफन्तसँग थोरै ब्याजमा पैसा ऋण लिएरसमेत लगानी गरे । झन्डै दुई वर्षसम्म कम्पनी र गाउँलेबीचको कारोबार चलिरह्यो ।
त्यसपछि मिटरको ब्याजको आम्दानी विस्तारै कम हुँदै गयो । कम्पनीले ब्याजबापतको रकम त दिएन नै, साँवा दिन पनि आनाकानी गर्न थाल्यो । खुरुखुरु ब्याज दिने कम्पनीले साँवा नै नदेला भन्ने विश्वास कसैले गरेनन् । आफ्नै गाउँकी चेलीमार्फत लगानी गरेकाले पनि धेरैले मुख खोलेर पैसा फिर्ता माग्न सकेनन् । त्यसो त कैयन् गाउँलेले चर्को ब्याजबाट पैसा कमाउन सकिने भन्दै आफ्ना आफन्त र छिमेकीलाई पनि लगानी गर्न उक्साएका थिए ।
तर विस्तारै महिना बित्न थालेपछि र पैसा लिएकाहरू सम्पर्कमै आउन छाडेपछि गाउँलेहरूले कपिललाई खोज्न थाले । कतिपयले उनलाई भेटेरै गाडी खोस्ने प्रयाससम्म गरे । तर अहँ, पूरा पैसा उठेन । यही बीचमा कपिल आफ्नो कार्यालय नै बन्द गरेर बेपत्ता भए । स्थानीय गाउँलेले पैसा फिर्ता गराइदिन शर्मिला र ज्ञानेन्द्रलाई पनि बारम्बार अनुरोध गरे । तर केही काम लागेन । ‘नाताले हाम्रै चेली र ज्वाइँ हुन् । कमाएर तिर्छु भन्छन् ।’ झन्डै ५ करोड फसाएका केत्तुकेका एक व्यापारीले भने, ‘अब कमाएर करोडौं रुपैयाँ कहिले फिर्ता होला र रु उजुरी गरेर जेल पठाउँदा उल्टै पैसा डुब्ने डर ।’ कपिलको खोजीमा खटिएका स्थानीय गाउँलेले कपिल दिल्लीतिर बस्ने गरेको सुनाए ।
‘मलाई त मेरो बच्चैदेखिको अत्यन्तै मिल्ने साथीले लगानी गर्नु, पैसा फस्दैन भन्यो,’ सिद्धिचरण नगरपालिका १२ का गणेश कार्कीले भने, ‘मैले विश्वास गरेर लगानी गरें । केही समय ब्याज र साँवा दुवै फिर्ता आयो । तर पछि भने आउनै छोड्यो ।’ उनले ८४ लाख लगानी गरेकामा १२ लाख फिर्ता गरे । अब ७२ लाख लिन बाँकी छ । उनले सिधै आफ्नो साथीको नाममा पैसा पठाएका कारण भौचर र भर्पाई साथीकै नाममा भएको बताए । ‘साथीले आफंैले पैसा फिर्ता गर्दिन्छु भनेकाले विश्वास गरेर बसेको छु,’ उनले थपे ।
पैसा लगानी गर्ने भन्दै सम्पर्कको माध्यम बनेका धेरैजसोको बिचल्ली भएको छ । उनीहरूले आफ्ना घरजग्गा बेचेर सकेजति पैसा फिर्ता गरिरहेका छन् । कम्पनी मालिकबाट पैसा उठाउन नसकिने भएपछि आफूले मागेर पैसा लगानी गरिदिएका आफन्तको पैसा फिर्ता गरिदिन भएको जायजेथा बेच्नुपरेको हो ।
कपिलको ठगी धन्दामा मुछिएका ज्ञानेन्द्र गुरुङको राजनीतिक पहुँचका कारण पनि गाउँका पीडित खुलेर बोल्न चाहँदैनन् । ठगी कथाको पोल खुल्दा आफ्नै आफन्त पर्ने डर मात्रै गाउँलेमा छै्रन, आउला भन्ने आस गरेको पैसा सधैंका लागि डुब्ने हो कि भन्ने चिन्ता पनि छ । कान्तिपुरले बारम्बार सम्पर्कको प्रयास गर्दा पनि सिन्धुपाल्चोकमा राजनीति गरिरहेका ज्ञानेन्द्र सम्पर्कमा आएनन् । गाउँलेले उनकी पत्नीको भन्दै दिएको नम्बरमा बारम्बार सम्पर्क गर्दा ज्ञानेन्द्रको आफन्त बताउने एक महिलाले फोन उठाइन् । केत्तुकेको ठगी प्रकरणबारे बुझ्न फोन गरेको बताउँदा पनि उनले ज्ञानेन्द्र घरमा नभएको र पछि कुरा गराइदिने बताइन् । तर दोस्रो र तेस्रो फोन सम्पर्कमा पनि ज्ञानेन्द्रसँग कुरा हुन सकेन ।
सिन्धुपाल्चोकका माओवादी नेता अग्नि सापकोटाले ज्ञानेन्द्र विगतमा जिल्लाको योङ कम्युनिस्ट लिग अर्थात् वाईसीएलको कोषाध्यक्ष रहेको र पार्टी एकीकरणपछि पदको विभाजन भइनसकेको बताए । जिल्लास्थित पूर्वमाओवादी नेताबाट प्राप्त ज्ञानेन्द्रको नम्बरमा बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।
कपिलको अर्को ठगी धन्दा
पैसा फसाएका केत्तुकेका धेरैजसो सोझा तामाङलाई कपिलको ठगी धन्दाको ‘विराट स्वरूप’ बारे थाहा नभए पनि प्रहरी परिसर काठमाडौंका निम्ति भने उनको नाम नौलो होइन । पहिलोपटक २०७४ जेठमा रमेशमान सिंहले उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दा दायर गरेका थिए । आफ्नो छोरालाई विदेश पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर बेपत्ता भएको भन्दै परेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो । प्रहरी परिसरको अभिलेखअनुसार त्यतिबेला उनी ३० दिन थुनामा बसेपछि धरौटी बुझाएर छुटेका थिए ।
यसरी छुटेका बर्माविरुद्ध फेरि २०७४ साउन २६ गते प्रहरी परिसर काठमाडौंमै ठगीको अर्को उजुरी पर्यो । अस्ट्रेलिया, युरोप र अमेरिका लगिदिने भन्दै ६० लाख रुपैयाँ उठाएर ठगी गरेको भन्दै हीरामणि शर्मासहितका पीडितले इनोभेटिभ कपिलसहित अन्य तीनविरुद्ध उजुरी गरेपछि प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । अन्य दुई पक्राउ परे पनि उनी फरार भइसकेका थिए । खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढायो । अदालतले ठगी मुद्दालाई सदर गर्दै उनीविरुद्ध पक्राउ वारेन्टसमेत जारी गरिसकेको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाले भने, उनी प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।
कपिलले आफ्नो ठगी धन्दा विस्तारका निम्ति नायक राजेश हमाललाई समेत दुरुपयोग गरेका थिए । कपिलको ठगी धन्दाबारे प्रहरीमा उजुरी परेपछि कन्सलटेन्सीहरूको छाता संगठन शैक्षिक परामर्श संघले पनि इनोभेटिभको सदस्यता खारेज गरेको थियो । कपिलमाथि अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार अमेरिका, अस्ट्रेलियालगायतका देश पठाउने भन्दै उनले झन्डै २ करोड रुपैयाँ ठगेको देखिन्छ ।
कारोबार शून्य भयो गाउँ
कपिललाई मिटर ब्याजमा पैसा लगाउने लहर चलेपछि केत्तुकेमा सञ्चालित सहकारी नै समस्यामा पर्न थालेका थिए । दुई वर्ष अघिसम्म केत्तुकेमा सञ्चालित सहकारीहरूमा अधिकांश स्थानीयको खातामा औसतमा ४ लाखदेखि ५ लाख रुपैयाँसम्म बचत थियो । बर्माको कम्पनीमा लगानी गर्दा सहकारीको भन्दा धेरै ब्याज आउने हल्ला फैलिएपछि अधिकांशले सहकारीको रकम निकालेर बर्माको कम्पनीमा लगानी गरे ।
‘हाम्रो सहकारीमा बचत शून्य हुने डर बढेको थियो,’ स्थानीय जनसेवी बचत तथा ऋण सहकारी संस्थाका एक–एक कर्मचारीले भने, ‘कम्पनीमा लगानी गरेको रकम फिर्ता आउन छाडेपछि मासिक बचत १ लाख पुर्याउन धौधौ भयो ।’ सहकारीबाट धमाधम रकम निकाल्न थालेपछि सहकारीको कारोबार स्वाट्टै घटेको ती कर्मचारीले बताए । उनका अनुसार अहिले सहकारीबाट रकम निकाल्नेहरू पछुताइरहेका छन् र गाउँमा केही आपत् परिहाल्यो भने केही लाख रुपैयाँ पनि खोज्न मुस्किल हुन थालेको छ ।
ठगी प्रकरणबारे मानेभन्ज्याङ गाउँपालिका ४ केत्तुकेका वडाध्यक्ष सन्तबहादुर तामाङ पनि जानकार छन् । किनकि चर्को ब्याज पाइने आसमा उनले पनि केही पैसा गुमाएका छन् । तर कान्तिपुरसँगको कुराकानीमा उनले आफूले कति पैसा फसाएको छु भनेर बताउन तयार भएनन् । उनले ठगी प्रकरणको जालो यथार्थ घटना भएको बताए । उनले भने, ‘आफन्तमार्फत लगानी गर्दा धेरैको पैसा डुब्यो ।’ वडाध्यक्ष तामाङले कति हो कति मान्छेको पैसा फसेको बताउँदै १७र१८ करोड नै फसेको हुन सक्ने अनुमान लगाए । लेनदेनको मुद्दा भएकाले प्रहरीले पनि अनुसन्धान नगर्ने भएकाले गाउँलेहरू प्रहरीमा नगएको र गाउँलेले आफ्नै तरिकाले पहल गरिरहेको बताए । उनले भने, ‘पैसा बुझ्नेले दिन्छु, दिन्छु भनिरहेको छ । तर कहिले दिन्छ, कसरी दिन्छ थाहा छैन ।’ त्यसो त आफ्नो र गाउँलेको फसेको पैसा उठाउन १५ दिनअघि मात्रै वडाध्यक्ष तामाङ काठमाडौं पुगेर ज्ञानेन्द्र र शर्मिलालाई भेटेका थिए । स्रोतका अनुसार उक्त भेटमा ज्ञानेन्द्रले पैसा उठाउन पहल भइरहेको र आफूले गर्दा मात्रै यस्तो नभएकाले प्रयास भइरहेको बताएका थिए । वडाध्यक्ष तामाङले कुराकानीको अन्तिममा भने, ‘कि समाचार छापेर सर्लक्क हाम्रो पैसा उठाइदिनुपर्यो । होइन भने हामी आ–आफ्नै तरिकाले उठाउँछौं ।’
ओखलढुंगास्थित जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले ठगीको विषयमा प्रहरीमा कुनै उजुरी नपरेको बताए । उनले भने, ‘मिटर ब्याजमा लगानी गर्नु गैरकानुनी भएको र यसैको आडमा ठगी धन्दा चलेको रहेछ भने अनुसन्धान गर्छौं ।’ ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले ठगीबारे उजुरी आए अनुसन्धान गरिने बताइन् । उनले भनिन्, ‘ठग्ने फरार भएर भारत पुगेको भए पनि प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत भए पनि पक्राउ गर्न सकिन्छ ।’ इकान्तिपुरबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस