Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीले मध्यमर्स्याङ्दी जल विद्युत आयोजना मर्मत गरिदिने

मंगलबार, ११ माघ २०७३, ०९ : ५० मा प्रकाशित

जर्मनीले मध्यमर्स्याङ्दी जल विद्युत आयोजना मर्मत गरिदिने

अर्थ संसार 

काठमाडौं–नेपालका लागि जर्मनीका राजदूत माथियाज अल्फ्रेड मेयरले  वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेटेर नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी¸ कृषि र पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल गरेका छन् । 

त्यस अवसरमा मन्त्री थकालीले संविधान निर्माण पश्चात नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानूनी, नीतिगत एवं प्रकृयागत सुधारका क्षेत्रमा सरकारले काम गरिरहेको अवगत गराउँदै जर्मनसँग व्यापार विस्तारको पर्याप्त सम्भावना भएर पनि अपेक्षित लाभ लिन नसकेको चर्चा गरे ।

उनले सरकारले व्यापार प्रबर्द्धन गर्न नयाँ वाणिज्य नीति एवं नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनमा जोड दिएको बताए । उनले व्यापार एकीकृत रणनीति¸ २०१० को कार्यान्वयन एवं परिमार्जित नेपाल व्यापार एकीकृत रणनीति¸२०१६ को तर्जुमाका क्रममा जर्मन राजदूतावासले दातृ निकायको सहजकर्ताका रुपमा खेलेको महत्वपूर्ण भूमिकाको सराहना गरे । 

जर्मनेली राजदूतले स्थानीय निकायमा लामो अवधिसम्म निर्वाचित जनप्रतिनिधि नभएको बारे जिज्ञासा राखेका थिए । राजदूतले नेपालले जर्मनीको बजारबाट अत्यधिक लाभ प्राप्त गरोस भन्ने सुभेच्छा राख्दै जर्मन नेपालको व्यापार¸ पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण¸ शिक्षा र स्वास्थ्यलगायतका विविध क्षेत्रमा सहयोगका लागि ईच्छुक रहेको बताए ।  

विविधतायुक्त समाज र प्राकृतिक सौन्दर्यका कारण ईयुका पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै राजदूतले मध्यमर्स्याङ्दी जल विद्युत आयोजनाको मर्मत संभार गर्न जर्मन सरकार तयार रहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको