Like us!
Follow us!
Connect us!
Watch us!

कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

मंगलबार, १७ बैशाख २०७६, १४ : ३८ मा प्रकाशित

कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

अर्थ संसार, कैलाली– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र मंगलबार तनाबग्रस्त बनेको छ ।
 
ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गरेको थियो ।

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन् ।

प्रदर्शनकारी लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी घाइते भएका छन् । स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको र सबै घाइतेको अवस्था खतारमुक्त रहेको अस्पतालले जनाएको छ ।

मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको