Like us!
Follow us!
Connect us!
Watch us!

गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै

बुधबार, २५ बैशाख २०७६, १३ : ४३ मा प्रकाशित

गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै

अर्थ संसार, चितवन - चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा  सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।  

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५/७६ को आवधिक योजनाको समीक्षा र ०७६/७७ को भावी योजनाबारे आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कृषक शिव पौडेलले गाउँ–गाउँमा कृषि सडक निर्माणको काम तीव्र भई रहे पनि  खेतीयोग्य जमीन बाँझै रहेकाले व्यावसायिक खेतीतर्फ किसानलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए  । 

सरकारले दिने अनुदानमा वास्तविक किसानसम्म नपुग्ने भएकाले व्यवसायी खेतीतर्फ किसान आकर्षित नभएका उनको तर्क छ । गाउँमा सडक पुगेपछि केही पैसावाल व्यक्तिले गाउँका खेतीयोग्य जमीन किनेर बाँझै राख्ने गरेको पौडेलले बताउनुभयो । गाउँमा सडक पुगे पनि  स्थानीयको जीवनस्तर नफेरिएको उनको भनाइ छ ।  

गाउँ–गाउँमा सडक विस्तारसँगै कृषकलाई व्यवसायी खेतीतर्फ आकर्षित गर्न कृषिमा आधुनिकीकरण गर्नुपर्ने अर्का किसान विष्णुप्रसाद सापकोटाले बताए।   
साना किसान कृषि सहकारी कुरिनटारका अध्यक्ष नरबहादुर नेपालले पनि समग्र गाउँपालिकाको समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बताए । 
   
अन्य सहभागीले पनि किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य नपाएका कारण पनि कृषितर्फ आकर्षित नभएको बताएका थिए । उनीहरुले सडक निर्माणसँगै कृषकलाई  अनुदान र तालीम दिई प्रोत्साहित गर्नुपर्ने बताए । गाउँमा पर्याप्त मात्रामा बजारसम्म लैजाने कृषिजन्य वस्तु उत्पादन नहुँदा  नियमित सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । इच्छाकामना गाउँपालिकाको ग्रामीण भेग तरकारी तथा फलफूलका खेतीका लागि उर्वरभूमि मानिन्छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको