चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैजसो कम्पनीको नाफामा गिरावट देखिएको हो ।
वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ९ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुको नाफामा ४७.२३ प्रतिशतले गिरावट देखिएको हो । १४ वटा ठूला निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत वर्षको बाढी र पहिरोको असर निर्जीवन बीमा कम्पनीको नाफामा परेको छ । यसका साथै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पनि निर्जीवन बीमा कम्पनीहरुले ठूलो रकम भुक्तानी गर्नु परेकाले त्यसको असर पनि कम्पनीको नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा तीन वटा कम्पनीले मात्रै नाफा बढेको छ । ११ वटा कम्पनीको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाएको छ । कम्पनीले चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षमा भने नाफालाई धनात्मक बनाउन सफल भएको छ ।
त्यस्तै यो अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि कम्पनीको यो नाफा गत वर्षको तुलनामा २६.९७ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नाफा वृद्धि गर्ने अर्को कम्पनी हो प्रभु इन्स्योरेन्स । यो कम्पनीले गत आर्थिक वर्षको तुलनामा ५.६३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा यो कम्पनीले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको ९ महिनामा भने यो कम्पनीको नाफा २० करोड रुपैयाँ रहेको थियो ।
चालु आवको ९ महिनाको अवधिमा नेको इन्स्योरेन्सले १६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.६१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा यो कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ४७.१३ प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै चालु आवको ९ महिनाको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.७३ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा यो कम्पनीको नाफा ३३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै नेपाल इन्स्योरेन्सले यो अवधिमा १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४०.५९ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै शिखर इन्स्योरेन्सले चालु आवको ९ महिनामा ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.२३ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको ९ महिनासम्ममा ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै यो अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा २३ करोड ३५ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१५ प्रीतशतले कम हो । गत आवमा यो कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै एनएलजी इन्स्योरेन्सले ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ७१.७८ प्रतिशतले कम हो । यो कम्पनीको नाफा गत आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा ९९.८३ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको नाफा चालु आर्थिक वर्षको ९ महिनामा ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६ करोड ९७ लाख रुपैयाँले नकारात्मक रहेको छ । गत वर्ष कम्पनी ११ करोड ६१ लाख रुपैयाँ नाफामा रहेको थियो । त्यस्तै नेशनल इन्स्योरेन्सले पनि १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्षको सोही समयमा कम्पनी ७२ करोड ८१ लाख रुपैयाँले घाटामा रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस